काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य बालेश्वर कामतले श्रीमती नम्रता काफ्लेविरुद्ध मोरङ जिल्ला अदालतमा जालसाजीको उजुरी दायर गरेका छन् ।
नाजायज सम्बन्धबाट जन्मिएकी जेठी छोरीको जन्मदर्ता श्रीमतीले झुक्याएर आफनो नामबाट गराएको उनले आरोप लगाएका हुन् ।
कामतले दायर गरेको उजुरीमा नम्रताले अवैध सम्बन्धबाट जन्मिएको सन्तानलाई आफ्नो नाममा दर्ता गराएको र कागजातमा जालसाजी गरेको दाबी गरिएको छ । बालेश्वरले श्रीमतीको चरित्रमा प्रश्न उठाएका छन् ।
यता, नम्रताले भने श्रीमानको आरोप पूर्ण रूपमा अस्वीकार गर्दै उल्टै चारवटा मुद्दा अदालतमा दायर गरेकी छन् । उनले अंश, सम्बन्धविच्छेद, घरेलु हिंसा र गाली बेइज्जतीसम्बन्धी उजुरी दिएकी हुन् ।
उनले नम्रतासँग जनवादी विवाह गरेका थिए । विवाह भएको केही वर्षदेखि नै उनले आफूमाथि शारीरिक र मानसिक यातना दिन थालेको आरोप नम्रताले लगाएकी छन् ।
उनका अनुसार, बालेश्वरले बारम्बार कुटपिट गर्ने, घरबाट बाहिर निस्कन नदिने, मोबाइल खोस्ने र चाडपर्वमा आफन्तकहाँ जान समेत रोक लगाउने गरेका थिए ।
२०८० सालको तीजमा लिन आएका आफ्ना भाइलाई समेत बालेश्वरले गाली बेइज्जती गर्दै ज्यान मार्ने धम्की दिएको र त्यसपछि बाटोमा समेत निर्घात कुटपिट गरेको नम्रताको भनाइ छ । उनले ५ असार ०८० मा अंश र सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् ।
त्यसपछि बालेश्वरले ‘मुद्दा फिर्ता नलिए ज्यान मार्दिन्छु’ भनेर पटक–पटक धम्की दिएको भन्दै नम्रताले थप दुई वटा मुद्दा दायर गरेकी हुन् । नम्रताको भनाइ अनुसार बालेश्वरले बारम्बार धम्की दिने गरेका कारण उनी लामो समयदेखि माइती बस्दै आएकी छन् ।
धम्कीका डरले आफूले मोबाइलसमेत प्रयोग गर्न छाडेको उनको भनाई छ । बालेश्वर माओवादी पृष्ठभुमीका एमाले नेता हुन् ।
