काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका छन् ।
शुक्रबार दुर्घटनास्थलमा पुगेर करिब २० मिनेट बिताएका उनले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरुबाट जारी अनुसन्धान, खोजरउद्धार कार्यबारे जानकारी लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
घटनास्थलमा पुगेर उनले सञ्चारकर्मीहरुसँग बोलेनन् । तर, घटनास्थल वरिपरि हिँडेको र ब्रिफिङ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । उनीसँग नागरिक उड्डयन मन्त्री किन्जारापु राम मोहन नायडुसहित अन्य वरिष्ठ अधिकारीहरु पनि त्यहाँ पुगेका थिए ।
अहमदाबादबाट लन्डनतर्फ उडेको एक मिनेटभित्रै बिहीबार एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको थियो ।
विमानको पुच्छरपट्टीको भाग भवनको छतमा अड्किएको तस्वीरहरु सार्वजनिक भएका छन् । भारतीय अधिकारीहरुका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए ।
तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।
