काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गम्भीर प्रकृतिका अपराधहरूको अनुसन्धान गर्ने प्रमुख निकाय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को कार्य सम्पादनले नेपाल प्रहरीको संगठनात्मक साख अझ उचो बनाउने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार लाजिम्पाटस्थित सिआईबी कार्यालयको निरीक्षणका क्रममा आयोजित निर्देशन तथा सम्बोधन कार्यक्रममा बोल्दै आईजीपी थापाले ब्यूरोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई पूर्ण व्यावसायिकता र वस्तुनिष्ठताको साथ अनुसन्धान कार्यमा समर्पित रहन आग्रह गरे ।
उनले भने, ‘जटिल प्रकृतिका अपराधहरूको निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धानले मात्र आमनागरिकको भरोसा जित्न सकिन्छ ।’
निरीक्षणका क्रममा आईजीपी थापाले ब्यूरो अन्तर्गतका आर्थिक तथा वित्तीय अपराध महाशाखा, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, लेखा शाखा, सूचना संकलन शाखा लगायतका विभिन्न महत्त्वपूर्ण शाखाहरूको अवलोकन र समीक्षा गरे । उनले प्रत्येक शाखाको कार्य प्रणालीबारे जानकारी लिँदै सुधारका लागि आवश्यक सुझावहरू पनि प्रदान गरे ।
उनले प्रविधिको विकाससँगै अपराधको स्वरूप पनि दिनानुदिन बदलिँदै गइरहेको उल्लेख गर्दै, विशेष गरी साइबर अपराध, वित्तीय ठगी, अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएका अपराधहरू, अवैध व्यापार, मानव ओसारपसार जस्ता चुनौतीपूर्ण अपराधहरूको अनुसन्धानमा उच्च दक्षता र स्रोतसाधनको प्रभावकारी प्रयोग आवश्यक रहेको बताए ।
आईजीपी थापाले अतीतमा सिआईबीले सम्हालेका केहि सफल र उल्लेखनीय अनुसन्धानहरूलाई उदाहरण दिँदै प्रशंसा गरे र त्यसले प्रहरी संगठनप्रति जनताको विश्वास बलियो बनाएको उल्लेख गरे ।
बदलिँदो समय, प्रविधि र सामाजिक संरचनाका बीच अपराध अनुसन्धान कार्य अब सामान्य प्रक्रिया मात्र नभई वैज्ञानिक, सूक्ष्म विश्लेषण र भरपर्दो सूचनामा आधारित हुनुपर्ने कुरामा उनले जोड दिए ।
उनले ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूको वृत्ति विकास, तालिम, प्रविधि उपयोग र समग्र ब्यूरोको आधुनिकीकरण र स्रोतसाधन व्यवस्थापन को पक्षमा संगठन निरन्तर क्रियाशील रहेको पनि स्पष्ट गरे ।
अन्त्यमा, आईजीपी थापाले प्रहरी कर्मचारीहरूलाई इमान्दारी, निष्ठा, पारदर्शिता र उच्च समर्पण भावका साथ कार्य सम्पादन गर्न निर्देशन दिँदै, अपराधमाथि नियन्त्रण गर्न सिआईबीको भूमिकालाई अझ सशक्त बनाउन सबै तहका प्रहरी अधिकृत र जवानहरूलाई एकताबद्ध प्रयास गर्न प्रेरित गरे ।
