पोखरा । मोरङबाट प्रेमीलाई पोखरा बोलाएर आफैंले काम गर्ने सुनचाँदी पसलका मालिकलाई हनिट्रयापमा फसाउने योजनाकी मास्टरमाइण्ड २७ वर्षीया मरियम राईसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको पोखराका एक जना सुनचाँदी व्यवसायीलाई हनिट्रयापमा पारेर रकम वार्गेनिङ गरेको आरोपमा पोखरा–१५, टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, उनका प्रेमी मोरङको विराटनगर घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभा सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मरियम सुनचाँदी पसलमा काम गर्थिन् । उनले आफ्नै पसलका मालिकलाई हनी ट्रयापमा पारेर पैसा असुल गर्ने योजना बनाएर लिम्बु र सुवेदीलाई मोरङबाट पोखरा बोलाएको खुलेको छ ।
दुई जना पोखरा पुगेपछि उनीहरुले व्यवसायीकी श्रीमतीलाई धम्क्याउन थालेका थिए । ‘तपाईंका श्रीमानले मरियमलाई बलात्कार गरेका छन्, यदि जीवनभरीलाई पुग्ने सम्पत्ति नदिए जेलमा सडाउँछौं,’ भन्दै धम्की दिएपछि घटनाले नयाँ मोड लिएको थियो ।
यो सूचना पाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । प्रहरीले पैसाको बार्गेनिङ गरेको अडियो प्रमाणसमेत बरामद गरेको छ । कास्की प्रहरीका डीएसपी हरि बस्नेतका अनुसार उनीहरूले व्यापारी र उनकी श्रीमतीसँग ५० लाख रुपैयाँ माग गरेका थिए ।
पक्राउ परेका तीनै जना विरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ ‘आपराधिक लाभ’ सम्बन्धी अभियोगमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
