काठमाडौं । कैलाली प्रहरीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको भजनी नगरपालिका-७ मा प्रहरीले गोली चलाएको हो ।
गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन् । दुवैलाई गोली लागेको छ ।
कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो ।
भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए । गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ ।
‘कैलारी गाउँपालिका–२ शिवरन्तपुरबाट पक्राउ परेका रिदम ढुंगाना र मिलन चन्दलाई प्रहरी टोलीले टीकापुर लगिरहेको थियो,’ डीएसपी सिंहले भने, ‘बाटोमा पिसाब फेर्ने क्रममा भाग्न खोजेपछि गोली चलाइएको हो ।’
उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर र दुई वटा गोली प्रहार गर्नुपरेको जनाएको छ । गोली प्रहारबाट दुवै जनाको घुडामुनी चोट लागेको छ ।
उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी भर्ना गरिएको छ ।
