काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–४ निवासी ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको एक महिना नाघिसक्दा पनि पीडित परिवारले न राहत पाएका छन्, न क्षतिपूर्ति ।
आतबार आयोजित पत्रकार सम्मेलनमा मृतकका परिवारजन तथा स्थानीय सामाजिक अगुवाहरूले घटनामा संलग्न दोषीलाई कारबाही गर्न सुरक्षा निकाय उदासीन देखिएको आरोप लगाए । उनीहरूका अनुसार प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा दबाउन खोजिएको छ ।
गत वैशाख २४ गते सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवल्दार सुवास सिंहले चिनी तस्करको पछ्याइमा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल बीआर-३०-७९३६ ले ठक्कर दिँदा अनुठा राय गम्भीर घाइते भएका थिए ।
उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पताल लगिएकोमा केही दिनमै उनको मृत्यु भयो । मोटरसाइकलमा सवार राम जिनिस साह पनि घाइते भएका थिए । हाल उनी अस्पतालबाट फर्किए पनि बैशाखीको सहारामा हिँडिरहेका छन् ।
मृतकका परिवारले इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दर्ता गराए पनि अहिलेसम्म दोषीमाथि कारबाही भएको छैन, न त कुनै क्षतिपूर्ति वा क्रियाखर्च प्रदान गरिएको छ । मृतकका छोरा राजेश यादवका अनुसार, सुरुमा नेताहरूले क्षतिपूर्ति दिलाउने आश्वासन दिए पनि पछि सम्पर्कविहीन भएका छन् ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार, घटनाका मुख्य दोषी फतुवा विजयपुर–४ का अर्जुन उर्फ गोपाल बैठा हुन् र उनी फरार छन् । हवल्दार सुवास सिंहसमेत अभियुक्त रहेको तर अनुसन्धान जारी रहेको कार्कीले बताए ।
तर प्रत्यक्षदर्शीहरू र घाइते राम जिनिस साहले भने दुर्घटनाको जिम्मेवारी सुवास सिंहकै रहेको दाबी गरेका छन् । उनीहरूका अनुसार, अस्पतालमा प्रहरीहरूद्वारा जबरजस्ती अर्को व्यक्तिको नाममा दोष सार्न दवाव दिइएको थियो ।
पीडित परिवारले दोषीमाथि कारबाही नगरे र क्षतिपूर्ति नदिए तीनवटै सरकारी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालयमा चरणबद्ध धर्ना तथा विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन् ।
