काठमाडौं । देश र जनताको सेवा गर्न खटिएका सशस्त्र प्रहरीका तीन जना सपुतले ज्यान गुमाएका छन् । जसले गर्दा अहिले देशका तीन जिल्लामा सशस्त्र प्रहरीका परिवार शोकमा डुबेका छन् भने सशस्त्र प्रहरी संगठन स्तब्ध बनेको छ ।
झापाको गौरादह नगरपालिका–८, जुरोपानीका २८ वर्षीय हरदेव राजवंशी र डोटीका २६ वर्षीय सुरज साउद सशस्त्र प्रहरी बलका अनुभवी गोताखोर थिए । सप्तकोशी नदीमा प्रदेशस्तरीय सेमुलेसन अभ्यासका क्रममा डुबेर बेपत्ता भए ।
अर्कोतर्फ, मोरङको कानेपोखरी गाउँपालिका–४ का सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको झापास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा निधन भएको छ । यी तीन सशस्त्र कर्मचारीको असामयिक निधनमा परिवार मात्र होइन, समग्र सुरक्षा बल र राष्ट्र नै रोएको छ।
यो अपुरणिय क्षति परिवार, संगठन र देशले नै भोग्नेछ ।
शनिबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह, मन्त्रीहरू र उच्च अधिकारीहरूको उपस्थितिमा नदीमा उद्धार कार्यको डेमो देखाउने कार्यक्रम तय गरिएको थियो । त्यसकै लागि बिहीबार अन्तिम अभ्यास थियो । पाँच जना गोताखोरसहित सशस्त्र प्रहरीको टोली सप्तकोशी नदीमा अभ्यासका क्रममा थियो ।
बिहीबार बिहान करिव पौने ८ बजे सशस्त्र प्रहरीको उद्धार अभ्यास सुरु भएको थियो । जसमा संलग्न सशस्त्र प्रहरीका अनुभवी जवानहरू संलग्न थिए । बिहानदेखि सुरु भएको सेमुलेसन अन्तिम समयतिर अप्रत्याशित रुपमा जोखिमपूर्ण बन्यो ।
राजवंशी र साउद नदीमा पस्दा अक्सिजनको सिलिण्डर, अन्डरवाटर गगल्स, विशेष सूट र दुईवटा डोरीको सहारामा थिए । बाहिर बोटमा बसेका सहकर्मीहरूले ती डोरी समातिरहेका थिए ।
पानीमुनी रहने गोताखोरलाई दिशा निर्देश गर्ने र सञ्चार माध्यमका रुपमा काम गर्ने लाइफलाइन डोरी दिउँसो ३ बजेतिर अचानक अड्कियो । त्यसपछि वाहिर र भित्र रहेका टोलीको सुचना र सम्पर्क टुट्यो । वाहिर रहेको टोली आत्तियो । टोलीले खोजतलास गर्यो ।
तर, नदिको भुमरीमा परेर हरदेव राजवंशी र सुरज साउद बेपत्ता भए । केही समयपछि उनीहरुले प्रयोग गरेको अक्सिजन सिलिण्डर पनि पानीमा तैरिरहेको भेटियो । तर, ‘लाश नभेटुञ्जेल आश हुन्छ’ भने झै दुवैलाई जिवितै फेला पार्ने आश र हौसलाका साथ उनीहरूको खोजी कार्य तिव्र पारियो ।
भोलिपल्ट (शुक्रबार) विहान हरदेव राजबंशी मृत अवस्थामा फेला परे । उनको शव करिव ३ किलोमिटर कोसी ब्यारेजको ५५÷५६ नम्बरको ढोकाबाट करिव ३ किलोमितर तर फेला परेको हो ।
यो सँगै एकातर्फ ‘दुवैको मृत्यु भएको’ आँकलन र अर्कोतर्फ चमत्कारको आश (जिवितै भेटिने) मा सुरजको खोजी जारी राखियो । तर दुर्घटनालाई कस्ले टार्न सक्थ्यो ? उनी पनि आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक मृत अवस्थामा फेला परे ।
सशस्त्र प्रहरीले जनाए अनुसार हरदेव राजवंशीले सशस्त्र प्रहरी बलका तीन महत्वपूर्ण तालिम—स्पेसल टास्क फोर्स (एसटीएफ), डिजास्टर म्यानेजमेन्ट र गोताखोर तालिम—सफलतापूर्वक पूरा गरेका थिए । उनी एसटीएफका प्रशिक्षक समेत थिए र आफ्ना सहकर्मीहरूलाई प्रशिक्षण दिँदै उद्धार टोलीको नेतृत्व गर्दै आएका थिए ।
सुरज साउदले पनि पाँचौं ब्याचको रूपमा गोताखोर तालिम पूरा गरी विभिन्न उद्धार तथा सुरक्षा कार्यमा सक्रिय भूमिका निभाउँदै आएका थिए । यी दुवै गोताखोरहरू बाढी, नदी डुबान र प्राकृतिक विपद्का बेला जनताको जीवन रक्षा गर्न खटिने दक्ष जवान थिए ।
अर्कोतर्फ, मोरङको कानेपोखरी गाउँपालिका–४ घर भएका ४८ वर्षीय प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी इलाम बोर्डर आउट पोस्टमा कार्यरत थिए । जनताको सुरक्षा र सेवा गर्ने उनको समर्पण अतुलनीय थियो ।
तर आफैंले चलाएको प्रदेश १–०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनको पनि ज्यान गयो । यी तीन सशस्त्र प्रहरीको असामयिक निधनले सशस्त्र प्रहरी बल स्तब्ध बनेको छ ।
