काठमाडौं । मोरङ प्रहरीले ‘लिभ–इन रिलेशन’मा रहेकी २१ वर्षीया युवतीको शरीरमा पेट्रोल खन्याएर हत्या गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामालाई प्रहरीले ६ वर्षपछि २४ जेठमा घरबाटै पक्राउ गरेको हो । यस्तो जघन्य घटना उनले आफै घरमा घटाएका थिए ।
झापाको अर्जुनधारा नगरपालिका–११ घर भई मोरङको विराटनगर–१६ मा बस्दै आएकी इसा योगी शेर्पाको हत्या आरोपमा लामालाई पक्राउ गरिएको हो । इशाको ८ वैशाख ०७६ मा हत्या भएको थियो ।
२ जना सहयोगी (श्रीमती र छोरा रुद्रराज) को मद्दतले इसाको शरीरमा पेट्रोल खन्याएर एसराजले आगो लगाईदिएका थिए । त्यसपछि लामाको परिवारै फरार भएको थियो ।
उनीहरु परिवारै मिलेर आगो लगाएपछि गम्भीर घाइते भएकी शेर्पालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीले घटनाको अनुसन्धान गरेर एसराज, उनकी श्रीमती र छोरा रुद्रराज (रेम्बो) लाई प्रतिवादी बनाएर १३ जेठ ०७६ मा कर्तव्य ज्यान सम्वन्धि मुद्दा दर्ता गरेको थियो । तर, संलग्न भनिएका सबै फरार भएकाले थप प्रक्रिया अघि वढेको थिएन ।
पछिल्लो समय एसराज घर आएको सूचना प्रहरीले पाएको थियो । सूचनापछि पुगेको प्रहरीले लामालाई घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार, रुद्रराज इसाको हत्यापछि विदेश फरार भएका छन् । उनलाई इन्टरपोलको सहयोगमा नेपाल फर्काउने प्रक्रिया थालिएको छ ।
एसराज ६ वर्षसम्म कहाँ थिए र उनकी पत्नि कहाँ छिन् भन्ने बारेमा प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । इलाका प्रहरी कार्यालय रानीका अनुसार, एसराज र शेर्पा लिभ–इन रिलेशनमा थिए ।
कतिपय स्थानीयले भने इसा र रुद्रराज प्रेम सम्वन्धमा रहेको पनि बताएका थिए ।
