काठमाडौं । दुई सन्तानकी आमासँग प्रेम सम्वन्धमा रहेका भारतको हैदराबादमा बस्दै आएका एक नेपाली युवक उनै प्रेमिकाको हत्या आरोपमा पक्राउ परेका छन् ।
३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या आरोपमा ३० वर्षीय नेपाली विजय टोपा पक्राउ परेका हुन् । उनले नाईलनको डोरीले घाँटीमा कसेर प्रेमीकालाई हत्या गरेका थिए ।
हत्यापछि शवलाई ट्रली ब्याग (सुटकेस) मा हालेर फ्याँकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही ट्रली ब्यागका आधारमा प्रहरी टोपासम्म पुगेको हो ।
प्रहरीका अनुसार फेसबुकमार्फत चिनजान भएका टोपा र बोहोर यसै वर्षको अप्रिलदेखि ‘लिभ–इन रिलेसनसिप’ मा थिए । बोहरा विवाहित र दुई सन्तानकी आमा हुन् ।
हैदराबादकै एउटा भाडाको घरमा बस्दै आएका उनीहरूबीच बोहरा गर्भवती भएपछि झगडा भएको थियो । टोपाले गर्भपतन गराउन दबाब दिँदै आएको र नियमितजसो झगडा हुने गरेको तेलंगाना टुडेको समाचारमा उल्लेख छ ।
यसैक्रममा मे २३ मा बोहराको हत्या गरी अर्को दिन उनले कुकटपल्लीबाट ट्रली ब्याग किनेर ल्याई त्यसैमा राखेर बाचुपल्लीको खालि ठाउँमा शव फ्याँकिदिएका थिए । जुन ४ मा स्थानीयले उक्त ब्याग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त घटनाको अनुसन्धान गर्न प्रहरीले ५ वटा विशेष टोली परिचालन गरेको थियो । सीसीटीभी फुटेजबाट ७० वटा ब्याग पसलमा छानबिन भएको थियो । त्यत्तिकैमा एउटा फुटेजमा टोपाले ब्याग किन्दै गरेको देखिएपछि प्रहरी घटनाको जरोसम्म पुगेको हो ।
प्रहरीले टोपालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीसमक्ष उनले अपराध स्वीकार गरेका छन् ।
