काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिइएको अस्थायी सुरक्षा सुविधा (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ । अमेरिकी गृह सुरक्षा विभागले घोषणा गरेको निर्णय अनुसार अब टीपीएसमा रहेका नेपाली नागरिकले आगामी दुई महिनाभित्र अमेरिका छाड्नुपर्नेछ ।
टीपीएस अर्थात अस्थायी सुरक्षा सुविधा यस्तो कार्यक्रम हो, जसअन्तर्गत प्राकृतिक विपत्ति, युद्ध वा अस्थिरताका कारण आफ्नो देश फर्कन नसक्ने विदेशी नागरिकलाई अमेरिकामा बस्न कानुनी रूपमा अनुमति दिइन्छ ।
सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिका सरकारले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । हाल अमेरिकामा करिब ९ हजार नेपाली टीपीएस अन्तर्गत बसोबास गरिरहेका छन् ।
तर अब यो सुविधा खारेज भएपछि उनीहरूलाई अमेरिका छाड्नुपर्नेछ वा अन्य वैकल्पिक भिसामा बस्ने उपाय खोज्नुपर्नेछ ।
बिहीबार सर्वोच्च अदालतले चारवटा देश क्युवा, हेटी, निकारागुवा र भेनेजुएलाका करिब पाँच लाख आप्रवासीहरुको टीपीएस खारेज गर्ने सरकारको निर्णयलाई अनुमति दिएको कुरा समाचारपत्र पोलिटिकोले जनाएको छ ।
प्रतिबन्धित १२ देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् । साथै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला जस्ता देशहरूमाथि आंशिक प्रतिबन्ध लगाइएको छ ।
टीपीएस खारेजको निर्णयले नेपाली आप्रवासी समुदायमा अन्योल र निराशा ल्याएको छ । धेरैले लामो समयदेखि अमेरिका बस्दै आएका कारण अब फर्किनुपर्ने अवस्था सिर्जना भएको बताइरहेका छन् ।
