काठमाडौं । कैलालीको धनगढीस्थित खुला सीमाबाट करोडौंको गाडीसहित ‘सेक्स टोय’ भारततर्फ तस्करी भएको घटनाको छानबिन थालिएको छ । बिहीबार भएको घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बल नेपालको सुदूरपश्चिमस्थित वैद्यनाथ बाहिनीले समिति नै गठन गरेको हो ।
स्रोतका अनुसार सशस्त्रका नायब उपरीक्षक (डिएसपी) जनक राज पन्तको नेतृत्वमा बाहिनीले छानबिन समिति गठन गरेर सोधपुछ अगाडि बढाएको छ । यसैक्रममा लापरबाही गरेको भन्दै जुगेडा बिओपीका प्रमुख इन्सपेक्टर पुरन जैसीलाई कैलालीको धनगढीस्थित सशस्त्रको ३४ नम्बर गणमा तानिएको छ ।
उनले तस्करी भएको गाडीसहित सामान बरामद नगरेको आरोप छ । जसक्रमा ३४ नम्बर गणका एसपी भने बिदामा थिए । सोही बेला कैलालीस्थित धनगढीको नेपाल–भारत सीमावर्ती सुडा क्षेत्रबाट १ गाडी सेक्स टोय तस्करी भएको थियो ।
सो तस्करीको गाडी भारततर्फ गौरीफन्टा कोतवाली प्रहरीले सीमा क्षेत्रबाट समातेको थियो । सूडा घाटबाट ग्राम सूडातर्फ जान लागेको बोलेरो पिकअप (UP31BT5163) बाट ७२ थान पीला प्लास्टिक बोराभित्र कागजले बेरेका १० हजार ८०० सेक्स टोय र सूडामा विजय सिंह रानाको घर नजिकै थप ६२ बोराबाट ९ हजार ३०० टोय फेला परेका थिए ।
जसको अनुमानित मूल्य भारतीय रुपैयाँ २ करोड १ लाख बराबर रहेको बताइएको छ ।
त्यसक्रममा २ जनालाई भारतीय प्रहरीले पक्राउ पनि गरेको थियो । पक्राउ पर्नेमा नईम खान (४५ वर्ष) र अनिल अहमद (३४ वर्ष) रहेका छन् । यस्तै विजय सिंह राना र सानू सिद्दीकी भने फरार भएको बताइएको छ ।
स्रोतका अनुसार ती टोय चाइनीज भएको जनाइएको छ । सो सामान कैलालीको भजनीबाट सुखड हुँदै हसुलियाबाट जुगेडा हुँदै पारी पुगेको बुझिएको छ ।
नेपाली तस्करले पारीपट्टीका एक सरदार तस्करलाई सो सामान पठाएको बताइएको छ। तर सीमा सुरक्षामा खटिने सशस्त्रको भने तस्करी नियन्त्रणमा कमजोरी देखिएकोले छानबिन थालिएको हो ।
प्रहरी स्रोतका अनुसार उत्तरप्रदेश र सुदूरपश्चिम प्रदेश जोडिएको सीमानाका सुडा, बनगवाँ, कजरिया, चन्दन चौकी जस्ता सीमावर्ती मण्डीहरूबाट मादक पदार्थ, हतियारदेखि यौन सामग्रीसम्मको तस्करी नियमितरूपमा भइरहेको पाइएको छ ।
