काठमाडौं । कैलालीको टीकापुरमा एक महिलामाथि प्रहरीले हातपात गरेको आरोपपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
जिल्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । गठित समितिले यथाशीघ्र अनुसन्धानको प्रतिवेदन पेश गर्नेछ ।
छानबिनपछि दोषी पाइएको खण्डमा सम्बन्धित प्रहरीमाथि आवश्यक कारबाही गरिने बताइएको छ ।
गत शुक्रबार साँझ सत्ती प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) यज्ञराज पन्तले ‘तँ’ भनेर सम्बोधन गरेको निहुँमा टीकापुर(७ मा चेकिङको क्रममा राजकुमारी कुँवर शाहमाथि कुटपिट गरेका थिए ।
प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग सामान्य भनाभनपछि सई पन्तले ती महिलामाथि हातपात गरेको भिडियो भाइल भएको थियो । त्यसपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय टीकापुरमा लिखित निवेदन दिएकी थिइन् ।
यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय कैलालीले ती दुई जना संलग्न प्रहरी कर्मचारीलाई कार्यालयमा तानेर अनुसन्धान अघि बढाएको छ ।
