काठमाडौं । पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको छ । यसँगै पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणबारे धेरैलाई चासो बढेको छ ।
बाबा रामदेवले सञ्चालन गरेका पतञ्जलि योगपीठले खानेपानीको समेत वितरण गर्दै आइरहेको छ । पतञ्जलि ‘दिव्या जल’ नाम दिएर उत्पादन गरिएको पानीको बोत्तल भारतमा मात्र नभएर नेपालको विभिन्न सरकारी कार्यालयहरुमा समेत पुर्याइने गरेको छ ।
नेपालमा पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा प्रकरणबारे धेरैलाई चासो भइरहँदा उक्त विवादित कम्पनीले उत्पादन गरेको ती पानीका बोत्तलहरु सरकारी कार्यालयहरुमा छ्यापछ्याप्ती देख्न सकिन्छ ।
‘पतञ्जलि दिव्या जल’ लेखेको पानीको बोतल सरकारी कार्यालयहरुमा भेटिएको हो । प्रहरी प्रधान कार्यालय नक्साल, प्रहरी एकेडमी, ऊर्जा मन्त्रालयलगायत सरकारी कार्यालयहरुम उक्त पानी पुग्ने गरेको पाइएको हो ।

प्रहरी कार्यालयहरुमा पुग्नुमा तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहको ठूलो हात रहेको छ । दिव्या जल नामको पानी सञ्चालक हुन् अरुण केसी । केसी र सिंह साथी हुन् ।
नातेदार रहेकै कारण केसीले प्रहरी प्रधान कार्यालय, प्रहरी एकेडेमीलगायत अन्य प्रहरी कार्यालयहरुमा उक्त पानी वितरण गर्ने अवसर पाएका हुन् । सिंहकै जोडबलमा उक्त पानी प्रधान कार्यालयमा आएको एक प्रहरी अधिकृतले बताए ।
त्यतिमात्र नभएर उक्त पानी ऊर्जा मन्त्रालयसम्म पुग्ने गरेको पाइएको छ । ऊर्जामन्त्री दीपक खड्काका विश्वासपात्र बिचौलिया केसीले मन्त्रालयमा पनि आफ्नो पानी वितरण गर्न सफल भएका हुन् ।
यस्तै अन्य सरकारी कार्यालयहरुमा समेत केसीको हालीमुहाली छ । वर्तमान सरकारकै पालामा उनले आफ्नो पानी सम्पुर्ण सरकारी कार्यालयहरुमा पठाउने योजना बुनेका छन् । जसको खातिर सिंहलाई समेत फाइदा पुगेको बताइन्छ ।
जबकी उक्त पानीको शुद्धतामा यसअघि पटकपटक प्रश्न उठेको थियो । तर, शक्तिको आडमा उक्त पानी उत्पादित कम्पनीलाई कुनै कारवाही भएन । फेरी उही कम्पनीको जताततै चर्चा भइरहँदा सरकारी कार्यालयहरुले त्यहि कम्पनीको पानी पुग्नुलाई तपाई के भन्नुहुन्छ ?
