वीरगञ्ज । वीरगञ्जको नाकाहरुबाट हुंदै आएका संगठित तस्करी, तस्करी रोक्न परिचालित सुरक्षाका विभिन्न संयन्त्र र तस्करीसंग सम्बन्धित व्यक्ति पक्राउ पछि भन्सार कार्यालयको मुद्दा फांटको भूमिकामा आरोपी जोगाउन अनुसन्धानमा एक स्थानिय मन्त्रीको ठाडो हस्तक्षेपले दैनिकी गरेर जिविकोपार्जन गर्ने सामान्य वर्ग पीडामा छन् ।
यही वैशाख १२ गते सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएको करिब १० लाख ५५ हजार रुपैया“ बराबरको औषधि र सवारीसाधन सहितक एकजना अटो चालकलाई नियन्त्रणमा लिएको थियो ।
अटो चालक वीरगञ्ज–२५, सिर्सियाका ३६ वर्षीय अमृत साह कानु, साथै उक्त कार्यमा संलग्न ढूवानीका सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । बरामद मालसमानकोे भन्सार मुल्यांकन मूल्य १० लाख ५५ हजार रुपैया“ रहेको थियो ।
पक्राउ परेका अटो चालकको बयानको आधारमा वीरगञ्ज भन्सार कार्यालयद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको नाममा वैशाख १८ गते एक्जिम कोड ६१९३७३६३४०१०२, वीरगञ्ज–१३ राधेमाई ठेगाना उल्लेख भएको न्यूट्रिका फुड कन्सर्न तथा वीरगञ्ज–२५ निवासी मंजु पटेलको नाममा हाजिर हुन तामेली पुर्जी जारी गरियो ।पत्रमा दुवै पक्षलाई बाटोको म्याद बाहेक १५ दिन भित्र उपस्थित हुन भनिएको थियो ।
तर, तामेलीको ३५ दिन वितिसक्दा समेत मुख्य अभियोगी देखिएको न्यूट्रिकाका सञ्चालक पक्राउ पर्न सकेका छैनन् । खोजतलाश पश्चात जेठ १४ गते जिल्ला प्रहरी कार्यालय पर्साले पुर्जी जारी भएको मान्छे र न्यूट्रिका फुड कन्सर्न उल्लेखित स्थानमा नभेटिएको साक्ष्य बयान सहित तामेली प्रति वीरगञ्ज भन्सार कार्यालयमा पठायो । त्यसको भोली पल्टै जेठ १५ गते वीरगञ्ज–२५ सिर्सिया चौकीमा मंजु पटेललाई प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय वीरगञ्जमा राखेको छ ।
१२ गते पक्राउ परेका अटो चालक अमृत साह कानूको बयानका अनुसार मंजु न्यूट्रिका फुड कन्सर्नका तर्फबाट अवैध औषधीजन्य मालबस्तुहरु ओसार पसार गर्ने भरियाको काम गर्दछन् । अमृतको अटो उनैले सामान ल्याईदिन भाडा गरेका थिए । पक्राउ परेका मंजुले आफु अनिल साह कानुको निर्देशनमा काम गरिरहेको बयान दिएका छन् । निजको बयान बुधबार सांझ सम्पन्न भएको छ ।
बयान पश्चात पनि भन्सार कार्यालयले मुद्दामा आदेश दिन नसकेको अवस्था छ ।मु्द्दा शाखामा करारमा १ जना सहित ४ जना कर्मचारीको नियुक्ती रहेको छ । चारैजनाले दैनिक यस विषयमा जवाफ दिन पञ्छिर्दै गरेकोले शंकास्पद देखिएको यस विषयमा माथिबाटै अनुमती नरहेकोले फैसला लम्बिदै गएको र पीडितले समयमा न्याय नपाएको जानकारी नाम नलिने शर्तमा भन्सारकै एकजना कर्मचारीले बताए ।
पक्राउ परेका अटो चालकको बयानको आधारमा अर्का अभियुक्त मंजु पटेल पक्राउ परिसकेको र ति अभियुक्त समेतले आफ्नो बयानमा अनिलको नाम लिईसकेको अवस्थामा धरौटी लिई तारेखमा छुट्नुपर्ने अटोचालक र अर्का अभियुक्त मंजु पटेलले धरौटी बापतको रकम नराखेको अवस्थामा निजलाई पूर्पक्षका लागि कारागार पठाउनुपर्नेमा अनुसन्धानको नाममा गैर तरिकाले अटो चालकलाई ४० दिन सम्म थुनामा राखि मुख्य अभियुक्त न्यूट्रिकाका सञ्चालकलाई उन्मुक्ति दिने भन्सार कार्यालयको भूमिका स्पष्ट भएको छ ।
यस विषयमा भन्सार कार्यालयका प्रवक्ता अमित तिवारीसंग बुझ्दा बयान भईसकेको २४ घण्टाभित्र मुद्दाको विषयमा नियमानुसार आदेश हुनुपर्ने बताए । २४ घण्टा वितेको २४ घण्टा भन्दा बढी समय भईसक्दा पनि सो विषयमा सम्बन्धित निकायबाट सम्बोधन नहुनुले यस विषयमा शंका उत्पन्न गरेको छ । भरियालाई अल्झाएर औषधी कारोबारीलाई कतै बचाउन त खोजिएको हैन ? प्रश्न उठेको छ ।
अनुसन्धानका नाममा व्यक्तिलाई पीडा दिने यस घटनाको स्थानिय मानवाधिकारवादीहरुले निन्दा गर्दै सम्बन्धित निकायमा यसबारे बुझ्ने बताए । यस विषयमा न्यूट्रिका फूड कन्सर्नका सञ्चालक जोगाउन पर्साकै एकजना मन्त्रीले भन्सार कार्यालयको काम कारवाहीमा दबावात्मक भूमिका खेलिरहेको सुत्रले जनाएको छ ।
सामान्य जस्तो देखिने घट्नामा मन्त्रीको हस्तक्षेपले यो घट्नालाई सामान्य भन्न मिल्दैन । वीरगञ्जको नाकाबाट अवैध कारोबार गर्ने समाचारहरु दिनहुं सञ्चार माध्यमहरुमा आईरहेको र यस घटनामा सम्बन्धित निकायको गैर जिम्मेवारीले मुख्य अभियुक्त जोगिने मार्ग प्रसस्त गरेको छ ।
