काठमाडौं । सिरहा प्रहरीको हिरासतमा रहेका एक व्यक्तिलाई छुटाइदिने र मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्ति सिरहाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोदकुमार यादव हुन् ।
प्रहरीका अनुसार, सवारी ज्यान मुद्दामा सिरहा प्रहरीको हिरासतमा रहेका बेला सिरहा नगरपालिका–१६, माडरका विवेक यादवलाई छुटाई दिने भन्दै उनकी आमासँग प्रमोदकुमारले रकम असुल गरेका थिए ।
विवेकलाई छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै प्रमोदले विवेककी आमा रानीदेवी यादवसँग २०८१ असार २७ गते १ लाख ७० हजार रुपैयाँ लिएको खुलेको छ ।
रानीदेवी यादवले दिएको जाहेरीका आधारमा प्रमोदलाई सोमबार पक्राउ गरिएको हो ।
प्रहरीले सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर विस्तृत अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
