धनगढी । कैलाली प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको मोबाइलका अवैध डिस्प्लेहरु बरामद गरेको छ । सामानसहित प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको टोलीले संयुक्त टोलीले सामानसहित एक जनालाई पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका–२ को एक घरमा छापा हानेर अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा डेरा गरि बस्ने डडेल्धुराको आलीताल गाउँपालिका–४ स्थायी घर भएका ३२ वर्षीय मान बहादुर वली रहेका छन् ।
उनको कोठामा दुई हजार ८२५ थान मोबाइलका डिस्प्ले फेला पारिएको डिएसपी चन्दले बताए । बरामद डिस्पेहरूको अनुमानित ४२ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ ।
प्रहरीका अनुसार ती सामानहरू भन्सार नतिरी अबैध रूपमा भित्र्याइएको देखिएको छ । बरामद गरिएका सामानसहित वलीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
