टोकियो । एनआरएनए जापानको चुनाव नजिकै गर्दा, विभिन्न व्यक्तिहरुबाट, विभिन्न पदहरुमा धमाधम प्रतिबद्धतासहितको उम्मेद्वारी घोषणा हुन थालेको छ ।
यसैक्रममा पर्वतमा जन्मेर लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएका हालका एनआरएन जापानका उपाध्यक्ष सुवास लामिछानेले आफ्ना अनुभव तथा प्रतिवद्धताका साथ अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणाको तयारी गरेका छन् ।
जापानको नेपाली समाजमा सक्रिय र प्रतिबद्ध सफल समाजसेवीको पहिचान बनाउन सफल लामिछानेले विद्यार्थी, व्यवसायी, कुकलगायत सबै क्षेत्रबारे बुझेकाले आफूले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताए ।
अध्यक्षका प्रत्यासी लामिछानेले आफ्नो पहिलो प्राथमिकता भनेको प्रवासी नेपालीको समस्यालाई तत्काल समाधान गर्ने संरचनाको विकास गर्ने बताए । कानुनी विवाह, दुर्घटना, निधन, जस्ता बाधाअड्चनहरुमा एनआरएन जापानले अझ गम्भीरतापूर्वक कार्य गर्ने उनी बताउँछन् ।
आफू अध्यक्ष पदमा निर्वाचित भएमा सबै क्षेत्रीय समितिहरुमा समय समयमा अन्तरक्रिया कार्यक्रम राख्ने र जापानमा रहेका प्रवासी नेपालीहरुको समस्याहरुलाई पहिचान गरी तत्काल निराकरण गर्नका लागि काम गर्ने लामिछानेको प्रतिबद्धता छ ।
जापानमा रहेका नेपाली प्रवासीले उनलाई एक सामाजिक अभियन्ता नै मान्ने गर्दछन् । कार्यसमिति सदस्य हुँदै उपाध्यक्षसम्म बन्न सफल भएका उनी आगामी निर्वाचनमा अध्यक्षको बलियो दाबेदार मानिन्छन् ।
