काठमाडौं । प्रहरी प्रधान कार्यालयले वैशाख १२ गते २०८ जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गर्यो । त्यसयता तल्लो दर्जाका प्रहरी कर्मचारीको बढुवा हुन सकिरहेको छैन ।
माथिल्लो दर्जा अर्थात् सिनियर प्रहरी अधिकृतहरुको मात्र बढुवामा चासो दिदा तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा कसैको ध्यान पुग्न नसकेको हो । जसले गर्दा उनीहरु निराश हुन बाध्य भएका छन् ।
प्रहरीमा जवानबाट सहायक हवल्दार, सहायक हवल्दारबाट हवल्दार, हवल्दारबाट वरिष्ठ हवल्दार र वरिष्ठ हवल्दारबाट असईको बढुवा निकाल्नुपर्ने छ । तर, प्रहरी प्रमुखदेखि तालुक मन्त्रालयका मन्त्री, सचिव सबैको नजर माथिल्लो दर्जामा मात्र परेको हुनाले लामो समयदेखि तल्लो दर्जामा बढुवा हुन नसकेको हो ।
नेपाल प्रहरीभित्र समयमै बढुवा नहुँदा हजारौंको संख्यामा जुनियर प्रहरीहरुको वृत्ति विकासमा असर परेको छ । तल्लो दर्जाका प्रहरीमाथि धेरैको चासो नपर्दा समयमै बढुवा समितिको बैठक बस्न नसक्दा खाली रहेको दरबन्दीमा कसैको पनि पदपूर्ति हुन नसकेको हो । समयमै पदपूर्ति नहुँदा प्रहरी संगठनभित्र निराशासमेत छाएको छ ।
बढुवाका लागि नामावली समेत तयार भइसकेको अवस्थामा कसले तल्लो तहका प्रहरी कर्मचारीको बढुवा रोकेको छ ? तल्लो दर्जाका प्रहरीको बढुवा रोक्नुमा राजनीतिक आस्थालाई पनि कारण बनाइएको छ ।
सम्भवतः आज वरिष्ठ हवल्दारबाट असईको बढुवा निस्किने विश्वस्त स्रोतले बतायो ।
