काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायब महानिरीक्षक (डिआइजी) सिद्वीविक्रम साह बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले साहलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।
गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिले डिआइजी साहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । एआइजी बढुवाका दाबेदारहरुमा डिआइजीहरु सुशील सिंह राठौर र उमा चतुर्वेदीलगायत थिए ।
साहको बढुवा सिफारिससँगै अब ३३ औं आइजीपीमा प्रतिस्पर्धा हुने भएको छ । यसअघि ३३ औं आइजीको प्रतिस्पर्धामा दान बहादुर कार्की, राजन अधिकारी र मनोज केसी मात्र देखिएका थिए । तर प्रतिस्पर्धामा साह थपिएपछि झनै रोचक हुने देखिएको छ ।
साह २०५३ को ब्याचमेट हुन् भने कार्की, अधिकारी र केसी २०५४ को टोली हुन् । डिआइजी बढुवा र एआइजी बढुवामा साहलाई पछि पारेका उनीहरु एसएसपीसम्म साहभन्दा पछाडी नै थिए ।
आइजीपी नियुक्त सरकारले गर्ने हुँदा २०५४ को टोलीलाई उनले टक्कर दिने सम्भावना छ । सरकारले बरियताअनुसार पहिलो, दोस्रो, तेस्रो र चौथो नम्बरमध्ये जसलाई अनुकुल ठान्छ उसैलाई गर्नसक्ने प्रहरीको व्यवस्था रहेको छ ।
