काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणमा सनराइजर्स हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार हैदरावाद र दिल्ली क्यापिटल्सबीचको खेल वर्षाका कारण रद्द भएपछि हैदरावादको प्लेअफ सम्भावना समाप्त भएको हो ।
सोमबारको खेलमा पहिले बलिङ गर्दै हैदरावादले दिल्लीलाई १३३ रनमै सीमित पारेको थियो । हैदराबादको जित्ने राम्रो मौका थियो, तर वर्षाका कारण दोस्रो इनिङ्स सुरु हुन सकेन । फलस्वरूप खेल अनिर्णीत रह्यो र दुबै टोलीले १–१ अंक बाँडे ।
११ खेल खेल्दा हैदरावादले ३ जित, १ बराबरी र ७ हारको सामना गर्दै जम्मा ७ अंक जोडेको छ । हाल उनीहरू अंक तालिकाको आठौं स्थानमा छन् । अब बाँकी ३ खेल जिते पनि टोलीको कुल अंक १३ मात्र हुनेछ, जुन प्लेअफ पुग्न पर्याप्त हुने छैन ।
उता, दिल्ली क्यापिटल्सले ११ खेलमा ६ जित र १ बराबरी गर्दै १३ अंक जोडेको छ । हाल टोली पाँचौं स्थानमा रहेको छ । प्लेअफमा स्थान सुरक्षित गर्न दिल्लीले अब बाँकी ३ खेलमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ । त्यसो गरेमा दिल्ली १७ अंकसहित प्लेअफमा प्रवेश गर्नेछ ।
