काठमाडौं । आइतबार नेपाल प्रहरीका ७ जना नायब महानिरीक्षक (डिआईजी)को सरुवा भएको छ । गृहमन्त्रीस्तरीय बैठकले डिआईजीहरूको सरूवा गरेको हो । सरुवामा नेतृत्वविहीन रहेको कर्णाली प्रदेशबाहेक ६ वटा प्रदेश प्रहरी कार्यालयमा प्रमुख तोकिएका छन् ।
गृहले कोशीमा ईश्वर कार्की, मधेशमा उमा प्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेश आचार्य, लुम्बिनीमा राजेन्द्र भट्ट र सुदूरपश्चिम डम्बर विकलाई पठाएको छ भने सिआईबीमा गोविन्द थपलियाको सरुवा भएको छ । तर, कर्णाली प्रदेशमा जाने डिआईजी नपाएपछि त्यहाँ खाली राखिएको छ ।
अहिले कर्णाली प्रदेशमा जाने डिआईजी नपाएपछि उक्त ठाउँमा बढुवा भएकामध्येबाट एकजनालाई पठाइने गरी खाली राखिएको विश्वस्त स्रोत बताउँछ । हाल संगठनमा १० जना डिआईजी कार्यरत छन् । तर, दुर्गम मानिएको कर्णालीमा जाने डिआईजी नै पाइएन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुट्न नसक्दा लामो समयदेखि डिआईजी सरुवा रोकिएको थियो । सरुवामा सहमति नहुँदा तीनवटा प्रदेश ४७ दिनदेखि र चारवटा प्रदेश २ हप्तादेखि नेतृत्वविहिन थियो ।
आइतबार ‘प्रहरी हेडक्वार्टरबाट डिआईजी सरुवाको पत्र गृहमा पुगेपनि किन रोकियो ?‘ शीर्षकमा स्कुपखबरमा समाचार आएपछि प्रधान कार्यालयले झनै चासो लिएको थियो । जुन समाचारमा सत्तारुढ दलहरुको कारण सरुवा हुन नसकेको उल्लेख थियो ।
समाचार आएको केही समयमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा सोहीपत्र बोकेर गृह मन्त्रालय पुगेर गृहमन्त्री रमेश लेखकसँग सरुवाबारे छलफल गरेको गृह स्रोत बताउँछ । तर, आईजीपी थापाको पत्रमा सातवटै प्रदेशमा पठाइने डिआईजीहरुको नाम उल्लेख थियो ।
आईजीपीको पत्रमा कर्णालीमा डम्बर विकको नाम र सूदुरपश्चिम प्रदेशमा हिमालय कुमार श्रेष्ठको नाम थियो भने अन्य प्रदेशमा सरुवा भएकाहरुकै नाम उल्लेख थियो । तर, गृहमन्त्री लेखकसँगको छलफलमा सुदूरपश्चिम प्रदेशमा विक र कर्णालीमा श्रेष्ठलाई पठाउनेगरी तयारी भयो ।
जो पठाएपनि डिआईजी नै पठाउने हो भनी आईजीपी थापा पनि राजी भए । तर, आफ्नो सरुवा कर्णालीमा हुँदैछ भन्ने खबर थाहा पाएपछि डिआईजी श्रेष्ठले आफू त्यहाँ नजाने सूचना गृहमन्त्री र आईजीपी थापासमक्ष पुर्याएको स्रोत बताउँछ ।
उक्त स्रोत भन्छ, ‘तर डिआईजी श्रेष्ठले आफू कर्णाली प्रदेश जान परे नजाने भनेर पहिल्यै नै भनेको कारण उक्त ठाउँ नगएको हुनसक्छ । अब त्यहाँ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बाट बढुवा भएर आएका नयाँ डिआईजीलाई खटाउन सक्छन् ।’
गृहमन्त्री लेखकले आफ्नो गृहप्रदेश सुदूरपश्चिममा डिआईजी विकलाई लैजान खोजेपछि कर्णाली प्रदेशमा जाने डिआईजी नभेटिएको हो ।
