मुम्बई । लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटको कारण फेरि जरिवाना गरिएको छ । उनलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको हो ।
यसका साथै, सुरुवाती ११ मा समावेश गरिएका खेलाडीहरूले पनि ६ लाख रुपैयाँ वा उनीहरूको म्याच शुल्कको २५ प्रतिशत, जुन कम हुन्छ, जरिवाना तिर्नुपर्नेछ ।
आइतबार मुम्बईमा भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबिचको खेलमा निर्धारित समयमा पूरा ओभर बलिङ नगरेकोमा लखनउलाई यो जरिवाना लगाइएको हो । लखनउले दोस्रो पटक यो गल्ती गरेको छ ।
यस सिजनमा आठौँ पटक स्लो ओभर रेटको लागि जरिवाना लगाइएको छ । लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सलाई दुई–दुई पटक जरिवाना गरिएको छ भने मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरु, दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सलाई एक–एक पटक जरिवाना गरिएको छ ।
