काठमाडौँ । मिस पबीको उपमा पाएकी पवित्रा साकीले पहिलोपटक आफ्नो बालविवाह भएको खुलासा गरेकी छन् । ९ वर्षअघि नै विवाह डिभोर्स भएपछि आफूले ठूलो पीडा सहनु परेको र आत्महत्याको प्रयाससमेत गरेको उनले बताइन् ।
मिस पबीले पहिलोपटक ‘रमाइलो छ’ नामक युट्युब च्यानलमा अन्तरवार्ता दिँदै विवाह र डिभोर्सको स्वीकारोक्ति गरेकी हुन् । उनले १६ वर्षको कलिलो उमेरमा आफ्नो विवाह भएको र केही समयपछि डिभोर्स भएको बताइन् ।
यसअघि पनि मिस पबीको विवाह भएर सम्बन्ध विच्छेद भएको समाचार र तस्बिर सार्वजनिक भए पनि उनले यसबारे केही बताएकी थिइनन् । उनले कार्यक्रममा भनेकी छन्, ‘१६ वर्षको उमेरमा भएको थियो । म यो कुराहरू कहिले एक्सपोज पनि गर्न चाहँदिन थिए । म हैन नै भन्छु । किनभने कानुनी रूपमा केही पनि भएको थिएन । त्यो गैरकानुनी कुरा थियो । तर म कसैलाई नराम्रो भन्न चाहन्नँ ।’
कानूनतः त्यो विवाह बालविवाह थियो । नेपालको कानून अनुसार विवाहका लागि महिलाको उमेर २० वर्ष पुगेको हुनुपर्छ । पबीका अनुसार परम्परागत तवरबाट बिहे भए पनि उमेर नपुगेका कारण विवाह दर्ता भएको थिएन ।
डिभोर्सको कारणबारे उनले केही बोलेकी छैनन् । तर, डिभोर्सपछि आफूले भोगेको पीडा सुनाउँदा उनी निकै भावविव्हल बनेकी छन् । सो अन्तरवार्तामा उनीसँगै कमेडियन पवन खतिवडा म्याकुरी पनि थिए ।
यस्तो भनेकी छन्
के–के थियो थियो । म त्यो कुरामा बोल्न चाहन्नँ । जे कुरा भयो, त्यही बेला नै सकियो । मलाई रिग्रेट छैन । मैले धेरै कुरा सिकेँ । जीवनमा अघि बढ्नुपर्छ भन्ने पाठ सिकेँ । मेरो डिभोर्स भयो, मैले त्यो डिभोर्समा नै बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो भन्यो, त्यस्तो भन्यो भन्ने चाहिँ हुनुहुँदैन जस्तो लाग्छ मलाई । म त्यो कुरालाई तल हेर्न चाहन्छु । किनभने आफूमाथि भएपछि तलको कुरा त सानो–सानो देखिन्छ नि ।
मलाई हर्ट भएन । त्यो भएकै कुराहरू हो नि त । तर, म त्यो कुराहरू बाहिर निकाल्न चाहँदिनँ थिएँ । कसैको इन्टेन्सन थियो होला । जति जति हामी पब्लिक हुँदै जान्छौँ, त्यति नै मानिसहरू चिन्छन् र तपाईँको जीवनमा कस्तो थियो ? के थियो ? भन्ने हुन्छ । तपाईँलाई सबैले माया गर्ने हुन्छ । तपाईँको सफलतामा ‘हेट’ गर्ने पनि हुन्छन् । त्यसपछि मानिसहरूले तपाईँको बारेमा खोतल्दै जान्छन् ।
मैले जीवनमा राम्रो कुराहरू पनि गरेको छु नि त । तर, ती कुराहरू निकाल्न खोज्दैनन् । नराम्रो कुरा अगाडि निकाल्न खोज्छन् । मैले स्वीकार गरेँ पनि यो एकदमै बच्चा बेलामा भएको थियो । बच्चा थिएँ । अहिले २५ वर्षको उमेरमा धेरै कुरा बुझेँ जस्तो लाग्छ ।
मैले २० वर्षपछि मात्र थाहा पाएँ । यस कुरामा मेरो आमा र बुवाले मलाई समर्थन गर्नुहुन्छ । डिभोर्सपछि केटाहरूले के कुरा सहनुपर्छ भन्ने मलाई थाहा भएन र केटी मानिसले धेरै कुरा सुन्नुपर्छ । त्यो कुरा भएपछि कोही मसँग साथी बन्न चाहेनन् । म त्यो समाजका लागि नराम्रो भए । स्कुलको साथीहरू पनि साथी छैनन् । एउटा ठुलो दुर्घटना थियो, त्यो कट्यो ।