काठमाडौं । चलचित्र ‘लाज शरणम्’ ले प्रदर्शनको ५१ औं दिने मनाउने भएको छ । गत फागुन १४ गते रिलिज फिल्म मंगलबार अर्थात ४९ दिनसम्म आइपुग्दा ११ वटा हलमा प्रदर्शनरत छ ।
फिल्मले यही बिहीबार प्रदर्शनको ५१ औं दिन पूरा गर्न लागेको हो । कतिपय फिल्म हलमा केही दिन टिक्न मुस्किल भइरहेको समयमा ५१ दिन मनाउनु आफैमा एउटा महत्वपूर्ण उपलब्धि हो ।
बीएसआर मुभिज, क्युएफएक्सको सिभिल र भाटभटेनी भक्तपुर, बिग मुभिज, आइएनआई सिनेमा, एफक्युब सिनेमा, रञ्जना सिनेप्लेक्सलगायतका हलमा फिल्म प्रदर्शनरत रहेको निर्माण पक्ष बताउँछ । त्यस्तै काठमाडौं बाहिर पनि केही हलमा फिल्म लागिरहेको छ ।
चर्चित हास्य टेलिश्रृंखला सक्किगोनीको टीमले निर्माण गरेको ‘लाज शरणम्’ को निर्देशक कुमार कट्टेल हुन् । त्यस्तै फिल्मको निर्माता नविन श्रेष्ठ हुन् ।
फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, अर्जुन घिमिरे, सागर लम्साल, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, कमलमणि नेपाल, रेणुनाथ योगी, प्रियाना आचार्यलगायतको अभिनय छ ।
चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले बक्स अफिसमा ४ करोड ३४ लाख रूपैयाँ कमाइ गरेको छ । यद्यपि यो केही साताअघिसम्मको कमाइ हो ।
चलचित्र ‘लाज शरणम’ ले कर्णालीको कथाव्यथा प्रस्तुत गरेको छ ।