काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयभित्र प्रवेश गराउने क्रममा नगर प्रहरी र कर्मचारीबीच टकराब भइरहेको छ ।
बिहीबार दिउँसो कर्मचारी र जनप्रतिनिधिले गुरागाईँलाई स्वागत गरेर कार्यालयभित्र प्रवेश गराउँदा नगर प्रहरीले रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।
कर्मचारीहरुले प्रशासकीय अधिकृतको कार्यकक्षको ढोकामा लागेको ताल्चा फुटाउने प्रयास गर्दा नगर प्रहरीले हस्तक्षेप गरेको थियो । त्यस क्रममा ढोकाको सिसा फुटेपछि नगर प्रहरी प्रमुख कर्मचारीहरुसँग आक्रोशित बनेका छन् ।
त्यसपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा नगर प्रमुख राजु पाण्डेले कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न चेतावनी दिए । कर्मचारीले काम नगरेर कार्यालय कब्जा गर्न खोजेको भन्दै उनी जङ्गिए ।
पत्रकारसँग पाण्डेले भने, ‘कर्मचारीहरू काम नगरेर यसरी कार्यालयभित्र तोडफोड गरिरहेका छन् । कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो हो । हामी आफ्नो कर्तव्य निभाउँछौँ ।’
प्रशासकीय अधिकृतलाई कार्यकक्ष प्रवेश गर्न नदिने हो ? भन्ने प्रश्नमा उनले आफूहरूलाई माथिबाट स्पष्ट आदेश रहेको बताए । ‘हामीलाई स्पष्ट आदेश छ, त्यसको अक्षरशः पालना गर्छौँ,’ उनले भने ।
केही कर्मचारीले पाण्डेलाई हामीले पाँच महिनादेखि तलब पाएका छैनौँ, तपाईँलाई चाहिँ तलब चाहिँदैन भनेर सोधेका थिए ।
पाण्डेले भने, ‘हामीले पनि तीन महिनादेखि तलब पाएका छैनौँ । ६ महिना, एक वर्ष भोकै बस्नु परे पनि कर्तव्य छोड्दैनौँ । कार्यालयको सुरक्षा हाम्रो जिम्मा हो । चाहेमा जुनसुकै पदाधिकारीलाई पनि रोक्नेछौँ ।’
यो पनि पढ्नुहोस्…
कामपाभित्र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास
उपमेयर सुनिता डंगोल प्रशासकीय अधिकृत गुरागाईँको स्वागतमा
