काठमाडौं । १२ फागुनमा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा कलंकीस्थित साथीको डेरामा अचेत अवस्थामा भेटिए । तर, थापाको सोही साँझ कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भयो ।
जहाँ उनी विष सेवन गरेर अचेत भेटिएका थिए, सो डेरा धुनिवेशी–८ घर भएका शिव कुँवरको हो । उनीहरु साथी रहेको खुलेको छ । धादिङ धुनिवेशी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापाको मृत्युबारे कालीमाटी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले जतिबेलै घटनास्थलबाट विषादीको प्याकेट र सुसाइड नोट फेला पारेको छ । ३ पेज लामो सुसाइड नोटबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
जसमा लेखिएका शब्दहरूले उनी सुमेरु सेभिङ एन्ड को–अपरेटिभ लिमिटेडका पूर्वसचिव विनोद आचार्यसँगको फोनवार्ता बाहिरिएपछि तनावमा थिए भन्नेमा देखाउँछ ।
सुसाइड नोटमा थापाले जनआस्था साप्ताहिक पत्रिकामा आफ्नो अडियो प्रसारण गरिएको र त्यसबाट आफूलाई टर्चर भएको उल्लेख गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । उनले लेखेका छन्, ‘मेरो प्रतिष्ठा खराब भयो, मानहानी भएको छ ।’
उक्त पत्रिकाले चरित्रहत्या गरेको थापाले नोटमा लेखेका छन् । ‘उनले कुनै व्यक्तिको नाम तोकेर आरोप लगाएका छैनन्, तर पत्रिकाको नाम चाहिँ नोटमा उल्लेख गरेका छन्,’ ती अनुसन्धान अधकृतले भने । जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक हुन् बरिष्ठ पत्रकार किशोर श्रेष्ठ ।
गत आइतबार सुमेरु सहकारीको विषयमा तीन जनाबीच कुराकानी भएको अडिओ रेकर्ड सामाजिक सञ्जालमा बाहिरिएको थियो । कुराकानीको सुरुवातमा थापा र सहकारीका पूर्वसचिव आचार्यबीच कुराकानी भएको सुन्न सकिन्छ ।
गिरोहले आफ्नो स्वर ‘बनाएर’ अफवाह फैलाएको उनले आफ्नो नोटमा जिकिर गरेका छन् । नोटमा भनिएको छ, ‘मेरो स्वर बनाएर अफवाह फैलाए, मन्त्री (मदुकुमार श्रेष्ठ) लाई पनि बदनाम गराए ।’
उनले परिवारका सदस्यहरूलाई राम्रोसँग बस्न आग्रह गरेका छन् । नोटमा उल्लेख छ, ‘बुवाको ख्याल गर्नु, सबै मिलेर बस्नु ।’ नोटमा थप भनिएको छ, ‘एक्कासि नभएको कामलाई फैलाएर मैले गरेको जस्तो बनाए ।’
