काठमाडौं । नेपाली सेनाका सहायकरथी कृष्ण जिसी उपरथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जिसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
जिसीलाई मध्यपूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदको बैठकले सेनाका अर्का उपरथी प्रेमध्वज अधिकारीको पदावधि थप गरेको छ ।
उपरथी अधिकारीलाई सरकारले रथीमा यसअघि नै स्थानीय बढुवा गरिसकेको छ । उनले संयुक्त राष्ट्रसंघको सैनिक सल्लाहकारमा आवेदन दिएका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको सिफारिसमा अधिकारीको पदावधि ६ महिनाका लागि थप भएको हो ।
त्यसैगरि नेपाली सेनाका महासेनानी प्रशान्त विक्रम राणा सहायक रथीमा बढुवा भएका छन्।
सहायक रथीमा बढुवा भएका राणा महासेनानी हुँदा सैनिक नियम पालक (प्रोभोस्ट मार्सल)मा कार्यरत छन्। २०७७ असार २९ गते राणा महासेनानीमा बढुवा भएका थिए। उनी २०४९ पुस २४ गते सेनामा भर्ना भएका हुन्।
सहायक रथी दिपेशजंग शाह उपरथीमा बढुवा भएपछि रिक्त भएको पदमा राणालाई सिफारिस गरिएको थियो।
