काठमाडौं । ललितपुरस्थित सुमेरु सहकारीको बचत रकम अपचलन प्रकरणमा नाम जोडेर अडियो बाहिरिएपछि बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीयले आत्महत्या गरेका छन् ।
मन्त्री श्रेष्ठका स्वकीय सचिव ३६ वर्षीय रवि थापाले आत्महत्या गरेका हुन् । कलंकीस्थित आफ्ना साथीको कोठामा सोमबार विषादी सेवन गरेका थापाको कलंकीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कोठामा कोही नभएको मौका पारेर थापाले विषादी सेवन गरेको काठमाडौं प्रहरीले जनाएको छ । धादिङ, धुनीबेसी–९ घर भएका थापालाई अचेत अवस्थामा फेला परेका दिउँसो २ बजेपछि अस्पताल लगिएको थियो ।
कोठामा थापाका दाइले उनलाई अचेत फेला पारेका थिए । उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पु¥याइएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।
थापाको साथबाट एक पेजको सुसाइड नोटसमेत बरामद भएको छ । नोटमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको प्रहरीको भनाई छ ।
गत शुक्रबार मन्त्री श्रेष्ठसँगै काठमाडौँ गएका थापा हेटौँडा नफर्की काठमाडौँमै बसेका थिए । मन्त्री श्रेष्ठ भने शनिबार रौतहटमा जानुपर्ने भएकाले फर्किएका थिए ।
सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम घटनामा जोडिएको प्रहरीको भनाइ छ । सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भएको मन्त्री श्रेष्ठले बताए ।
अडियोमा धादिङका एक जनाको आवाजसमेत रहेको र ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि रिहा गरेको पाइएको छ । प्रहरीका अनुसार अडियो क्लिप परीक्षणको क्रममा छ ।
