काठमाडौं । नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्क बस्ने जितेन्द्र मण्डल छन् । उनले सामाजिक सञ्जालमार्फत पीडितसँग साथी बनेका थिए ।
आफू डाक्टर हुँ भनेर चिनजान गराएका उनले सुगर रोगको उपचार गर्छु भन्दै पीडितलाई औषधि खुवाएका थिए । औषधि खुवाएर बेहोस बनाएपछि कोठा भित्र रहेका सुन, चाँदीका गहनाहरू र ३ लाख नगद लुटेर फरार भएको आरोप उनीमाथि छ ।
प्रारम्भिक अनुसन्धान गर्दा सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । उनीमाथि अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको छ ।
