काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा ढिलाइ भएको छ । बढुवा समय भएतापनि विभिन्न स्वार्थका कारण ढिलाई भएको हो ।
कमजोर कमाण्ड क्षमताका एसपीहरुको चर्को दवाव र चलखेल गरेपछि तनावको अवस्था सिर्जना भएको छ । नेपाल प्रहरीका २५ जना एसपीहरुको एसएसपीमा बढुवा गर्नुपर्ने छ ।
कमजोर कमाण्ड क्षमताका एसपीहरु जसरी पनि बढुवा हुनुपर्ने भन्दै नेताहरुको चाकडी गरेपछि सिनियर एसपी अर्थात काबिल एसपीहरु एसएसपीमा उक्लिन समय अझै केहीदिन लम्बिदै जाने हो कि भन्ने आशंका समेत उठेको छ ।
आकांक्षीको संख्या धेरै हुँदा बढुवा सिफारिसमा सकस परेको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन् । एसएसपीको बढुवामा अहिले दुई ब्याचका एसपीहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
जसमा २०५६ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरू र २०५८ मा इन्सपेक्टरमा भर्ना भएकाहरूबीच प्रतिस्पर्धा हुनेछ । २०५६ मा भर्ना भएकामध्ये ६ जना अहिले पनि एसपी छन् ।
जसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल, तुलबहादुर कार्की, रोकश सिंह र राजिव बस्नेत छन् । यद्यपी उनीहरू पनि २०५८ कै टोलीसँग नै एसपीमा बढुवा भएका थिए ।
२०५८ मा इन्सपेक्टरमा भर्ना भएका ८९ जनाहरू पाँच लटमा एसपीमा बढुवा भएका थिए । जसमा २०७५ फागुन ३ गते पहिलो लटमा बढुवा भएका थिए ।
२०५८ का ब्याचीहरू पहिलो लटमा २०७५ फागुनमा बढुवा हुँदा २०५६ का टोलीका अधिकारी, सिलवाल र कँडेलसँगै बढुवा भएका थिए । कार्की, सिंह र बस्नेत भने २०५८ कै टोलीको दोस्रो लटमा २०७७ वैशाखमा हुँदा उनीहरू पनि बढुवा भएका हुन् ।
२०५८ को ब्याचीबाट रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन् ।
उनीहरूभन्दा पछि २०७७ वैशाख १७ मा बढुवा भएका २०५८ कै ब्याचीहरू पनि बढुवाको प्रतिस्पर्धामा छन् । जसमा होविन्द्र बोगटी, बेद विष्ट, दयानिधि ज्ञवाली, सन्तोष सिंह राठौर, शान्तिराज कोइराला, संञ्जयसिंह थापा, महेन्द्र खड्का, प्रभु ढकाल, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, राजेन्द्रप्रसाद धमला, प्रविण धिताललगायत छन् ।
यीमध्ये केही विवादित प्रहरी अधिकृत छन् । जबकी उनीहरु राजनीतिक शक्तिकेन्द्रलाई रिझाएर बढुवा हुने दाउमा छन् । जस्तो विमल बस्नेत, जर्नादन जिसी, कमल थापा, श्याम कुमार महतो, वीरबहादुर बुढामगर विवादित अधिकृत हुन् ।
त्यसैगरी राकेश सिंह, तुलबहादुर कार्की, संजय सिंह थापा, दिपेन्द्र शाही, प्रकाश मल्ल, राजीव बस्नेत पनि विवादित छविका हुन् । तर, उनीहरु राजनीतिक नेतृत्वलाई रिझाएर जसरी पनि बढुवा हुने दौडमा छन् ।
