काठमाडौं । ०७२ सालको भूकम्पका बेला सिन्धुलाल्चोकस्थित चौतारा कारागारबाट भागेका इन्द्रावती–७ घर भएका रवि धमला झण्डै १० वर्षपछि पक्राउ परेका छन् । तर, उनी अर्कै कसुरमा पक्राउ परेका हुन् ।
काठमाडौंका दुई फरक ठाउँबाट मंगलबार राति ९२ लाख रुपैयाँ नगदसहित पक्राउ परेका तीन जना मध्ये धमला पनि एक हुन् । पक्राउ परेपछि क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) जाँच गर्दा उनी श्रीमती बेचेको कसुरमा जेल चलान भएको र त्यहाँबाट भागेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको लोलाङ र जोरपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो । तीन जनामध्ये पैसाको मुख्य हर्ताकर्ता धमला नै रहेको खुलेको छ । उनीसँगै रसुवाको उत्तरगंगा घर भएका जितबहादुर तामाङ र सङ्खुवासभा घर भएका सन्तोष खातीपनि पक्राउ परेका छन् ।
तामाङ र धमलाको साथबाट ७७ लाख र खातीबाट १५ लाख गरी प्रहरीले ९२ लाख रुपैयाँ बरामद गरेको हो । प्रहरीले भेट्दा धमला र तामाङ स्कुटरमा हिटरको कार्टुन बोकेर हिँड्दै थिए । प्रहरीसँग उनीहरुले अवैध रकमको कारोबार गरिरहेको सूचना थियो । हिटरको कार्टुन खोलेर हेर्दा नगद भेटिएको हो ।
धमला र तामाङ पक्राउ परेपछि प्रहरीले नियन्त्रणमा लिएको उनीहरुकै मोवाइलमा ‘१५ लाख तयार छ । रकम लिन आउनु’ भन्दै फोन आएको थियो । सोही फोनका आधारमा खाती पक्राउ परेका हुन् । बरादम भएको रकम तस्करीको हुन सक्ने प्रहरीले आशंका छ ।
धमलाले काठमाडौंको बौद्धमा २ वटा सुन पसल सञ्चालन गरेको भेटिएको छ । रसुवाको केरुङमा पनि उनले चिनियाँको नाममा सुन पसल सञ्चालन गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । रकम सङ्कलन गर्नुअघि उनीहरूको बिचमा विच्याटमा कुराकानी भएको भेटिएको छ ।
धमला यसअघि श्रीमती बेचेको कसुरमा जेल परेका थिए । माइतीपक्षले उनीविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले २०७१ मा पक्राउ गरेर मानव वेचविखनको मुद्दा चलाएको थियो । त्यसपछि उनी कारागार चलान भएका थिए ।
सिन्धुपाल्चोकस्थित चौतारा कारागारमा रहेका बेला १२ वैशाख ०७२ को भूकम्पले कारागार भत्काएपछि उनी फरार भएको खुलेको छ । बाँकी कैद भुक्तान गरे÷नगरेको भन्नेबारे खुलिसकेको छैन ।
