काठमाठौं । अबको पाँच दिनमा प्रहरीमा २ वटा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी खाली हुँदैछ । एआईजीद्धय भरत बोहोरा पुस १४ र किरण बज्राचार्य पुस १६ गते अवकाशमा जाँदैछन् । दुवैजना उमेरहदका कारण अवकाशमा जान लागेका हुन् ।
अब रिक्त हुने एआईजीका लागि प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु कुवेर कडायत, रविन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई र लालमणि आचार्य मुख्य प्रतिस्पर्धामा छन् । उनीहरु सबै एउटै लटमा बढुवा भएका हुन् ।
जसमा कडायत, केसी र भट्टराई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरका ब्याचमेट हुन् भने खापुङ र आचार्य हालका एआईजी दीपक थापाका ब्याची हुन् । त्यसैले सिनियर टोलीका ३ जनामध्ये बाटै एआईजी बढुवा सिफारिस हुने सम्भावना छ ।
तीनजनामा एकजना छुट्ने !
पछिल्लो केही महिनायता प्रहरीको बढुवामा एआईजीलाई मात्रै केन्द्रमा राखिएको भनेर तल्लो तहका अधिकृतहरू असन्तुष्ट बनेका छन् । तर गृह मन्त्रालय अहिले पनि एआईजी बढुवा निकालेपछि मात्र अन्य निकाल्ने तयारीमा छ ।
पछिल्लो एआईजी बढुवा हेर्दा आईजीपी कुँवरका ब्याचीहरुलाई प्राथमिकतामा राखिएको छ । जसकारण एआईजीको बढुवाको प्रबल दाबेदारहरु हुन्, कडायत, केसी र भट्टराई । तर, उनीहरुमध्ये एकजना भने बढुवामा छुट्नेछन् ।
एआईजीको दुई पद रिक्त तर, बढुवाका दाबेदारहरु तीनजना रहेकाले एकजना छुट्ने भएका हुन् । जसमध्ये आईजीपी कुँवर समेत धर्मसंकटमा परेका छन् । उनीहरुमध्ये कसलाई बढुवा सिफारिस गर्ने भन्नेबारे कुँवर अन्यौलमा परेका हुन् ।
तर, उच्च स्रोतका अनुसार दुई एआईजीको लागि कडायत र भट्टराईको प्रबल सम्भावना छ । उनीहरु दुवैजना प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको छवि बनाएका व्यक्ति हुन् ।
कमाण्ड क्षमतामा समेत अब्बल रहेका उनीहरुलाई प्रहरी महानिरीक्षक कुँवर एआईजीमा बढुवा गर्नु पर्ने पक्षमा देखिएका छन् । हाल भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।
यता अर्का डिआईजी केसी पनि बढुवाको लागि दौडधुप गरिरहेका छन् । कमाण्ड क्षमतासमेत कमजोर रहेका केसी जसरी पनि बढुवा हुने भन्दै नेताहरुको चाकडी गरेपनि सम्भावना कम रहेको स्रोतको दाबी छ ।
सम्भवतः एआईजी बढुवा सिफारिस भोलि निस्किनेछ ।
