काठमाडौं । बाराको सिमरामा शनिवार कारभित्र मृत फेला परेका प्रहरी कर्मचारी (कार्यालय सहयोगी) राजकुमार रुम्बाको टाउकोमा गोली भेटिएको छ ।
पोस्टमार्टमका क्रममा रुम्बाको टाउकोमा गोली भेटिएको प्रहरीले जनाएको छ । सिमरा विमानस्थलमा कार्यरत रुम्बा गत शनिबार बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत फेला परेका थिए ।
उक्त कार राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर श्रीकान्त तिवारीको रहेको खुलेको छ । उनी तिवारीसँग कार मागेर हिँडेका थिए । सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको सोही कारभित्र उनी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र कुमार खड्काले रुम्बाको गोली हानेर हत्या गरिएको पुष्टि भएको बताए । तर कसले र किन हत्या ग¥यो भन्ने खुलेको छैन ।
घटनाको विभिन्न पाटोबाट अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए । मृतक रुम्बाको मोबाइलको कल डिटेल र लोकेशन हेरेर प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाई छ ।
