काठमाडौं । भक्तपुरको बालकोटमा बाबु र भाइ हत्या गर्ने मिलन आचार्यले तनावका कारण हत्या गरेको बयान दिएका छन् ।
उनले आफू पटक पटक लोकसेवामा असफल हुँदा पारिवारित तनाव भएको बतएका हुन् । उनले ६ पटक लोकसेवाको परीक्षा दिँदा पनि पास नभएको बताएका छन् ।
आफू सरकारी जागिरे भएको हेर्ने चाहना राखेका बुबा आफ्नो असफलताले डिप्रेसनमा पुगेका र एकपटक आत्महत्या समेत गर्ने कोशिस गरेका उनले बताएका हुन् ।
‘बुबा पनि डिप्रेसनको बिरामी हुनुहुन्थ्यो। भाइ पनि खासै नपढ्ने कुलतमा लागेजस्तो थ्यो । आफू पनि ६ पटक लोकसेवाको परीक्षा दिएँ । कहिले सुब्बा कहिले खरिदार तर पास हुन सकिनँ । आफ्ना कारण पनि परिवारलाई तनाव भयोजस्तो लाग्यो । मैले पनि केही गर्न सकिनँ ।
यो भन्दा त बाबुलाई पनि मुक्ति दिँदा ठीक हुन्छ भनेर मार्ने निर्णय गरेको हुँ’, उनले प्रहरीको प्रारम्भिक सोधपुछमा भनेका छन्, ‘बाबु र भाइलाई मारेपछि म पनि मर्छु भनेर यो सबै गरेको हुँ । कुनै झगडा परेर हत्या गरेको होइन ।’
बुबा र भाइको हत्यापछि फरार मिलन आफैं प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।
