काठमाठौं । प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड सम्हालेयता पछिल्लो समय मासिक कार्यप्रगति सार्वजनिक गर्दै आएका छन् ।
मासिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्दा समग्र जिल्ला प्रहरी कार्यालय चितवनको कार्यसम्पादन पारदर्शीता हुने एसपी मिश्रको बुझाइ छ । जसकारण चितवन प्रहरीले निर्धारित कार्यसम्पादन, लक्ष्य प्राप्ति तथा सर्वसाधरणलाई सूचनाको हकमा सोझै पहुँच वृद्धि गरिरहेको छ ।
प्रत्येक महिनाको अन्तिमसम्म अर्थात् महिनाभरी भएगरेका प्रमुख गतिविधि तथा कार्य सम्पादनलाई एकीकृत गर्दै मासिकरुपमा कार्यप्रगति विवरण सार्वजनिक गरिँदा प्रहरी र सर्वसाधरणलाई सहजता समेत हुनेछ ।
चितवन प्रहरीले समग्र जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनिकरणसँगै सर्वसाधरणलाई सुसूचित गराउने लक्ष्य लिएको छ । यसबाट प्रहरी सहकार्य र गतिविधी तथा आन्तरिक सुदृढीकरणका प्रयासलाई थप सशक्त बनाउने अभिप्राय लिइएको छ ।
सोहीअनुरुप चितवन प्रहरीले मंसिर महिनाभरी मुख्यमुख्य सम्पादित प्रमुख कार्यहरुलाई आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ । जसमा लागूऔषध बरामददेखि मानवबेचबिखन नियन्त्रणसम्म कार्यहरु समावेश छ ।
जसमा गत मंसिर ५ गते ८ जना युवतीहरुलाई विदेश पठाउने बहानामा मानव बेचविखन गर्ने गिरोहको समूहका एक व्यक्तिलाई पक्राउ गर्न चितवन प्रहरी सफल भएको छ ।
मकवानपुर हेटौंडा उपमहानगर-१४ का राजु तामागं भन्ने राजकुमार थिगंले युवतीहरुलाई ललाईफकाई फ्रिमा नेपालबाट कुवेत पठाइदिने भन्दै प्रलोभन देखाइ भारतको दिल्ली लैजाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
यस्तै चितवन प्रहरीले ठूलो मात्रामा लागूऔष गाँजा समेत बरामद गरेको छ । करिब २ क्विन्टल गाँजा र ४८० मिलिग्राम हेरोइनसमेत १८ जना व्यक्तिहरुलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ ।
त्यसैगरी रातको समयमा घरमा कोही नभएको मौका छोपी सुनचाँदीका गहना चोरी गर्ने माडी नगरपालिका-५ बस्ने अन्दाजी २१ वर्षको विनोद सुनारलाई समेत पक्राउ गरेको छ । उनले थुप्रै घरहरुमा चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यसैगरी मंसिर महिनामा विभिन्न समयमा हराएका केही मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाउनुको साथै समुदाय प्रहरी सहकार्य अन्तर्गत दर्जनौं सचेतनामूलक कार्यक्रमहरु समेत गरेको छ ।
चितवन मेडिकल हवको रुपमा चिनिन्छ । तर, आपराधिक गतिविध गरेको आरोपमा चितवन प्रहरीले केही डाक्टरहरुलाई समेत पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
४७ फरार प्रतिवादी पक्राउ
यस्तै मंसिर महिनामा चितवन प्रहरीले ४७ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । गत मंसिर १ गतेदेखि ३० गतेसम्म ४७ जना प्रतिवादीलाई पक्राउ गर्न चितवन प्रहरी सफल भएको हो ।
अदालतबाट कैद र जरिवाना फैसला भएर फरार भएका प्रतिवादी पक्राउ गरेर १४ वर्ष १६ दिन कैद र ६ लाख १३ हजार रुपैयाँ जरिवाला असुल गरेको प्रहरीले जनाएको छ ।
