चितवन । बढ्दो सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ।
राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न आफूले चितवनक भरतपुर महानगरको आँपटारी चोक स्थित सडकमा नै चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको चितवन ट्राफिक प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिए ।
सोही अभियान अन्तर्गत शुक्रबार भरतपुरस्थित मनकामना अस्पतालको सहयोगमा आँपटारी चोकबाट चालक र सहचालकको स्वास्थ परिक्षण गरिएको हो।
अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको र यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उनको विश्वास थियो।
सो अवसरमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ।
‘चितवन जिल्लामा पूर्व पश्चिम र अन्य राजमार्गले लामो क्षेत्र ओगटेको छ। दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ,’ उनले भने, ‘चितवन जिल्लाले थालेको यो अभियानमा सबै जिल्लाले सुरु गर्न सके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ।’
सवारी चालक तथा सहचालक गरी बिहिबार मात्रै १ सय ५ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा समस्या देखिएका १० जनालाई थप उपचार गर्न आफू सुझाव दिएको प्रहरी निरीक्षक गायत्रीराज शर्माले बताए ।
सडकमा नै आफूहरु स्वास्थ्य परिक्षण कार्यक्रम राखेकोमा चालकहरुले खुसी व्यक्त गरेका थिए । चालक बाबुराम कुवँरले दुर्घटना रोक्न चालकको स्वास्थ्य परीक्षणले सहयोग पुग्ने र यात्रा सुरक्षित रहने भन्दै यो अयिभान नियमित राख्न अनुरोध गरे ।
उनले भने, ‘चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियानकै रूपमा चलाएको हो।’
यो अभियानसँगै जिल्लामा रहेका प्रत्येक ट्राफिक युनिटले दैनिक एक–एकवटा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कारबाही गर्ने, राजस्व सङ्कलन गर्नेमात्र नभई चालक, सहचालक, यात्रुको गनासो सुन्ने र तत्काल ट्राफिक प्रहरीबाट हुनसक्ने समस्या समाधान खोज्ने लक्ष्य लिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।
यात्रुले भने प्रहरीको यो अभियानको प्रशंसा गरेका छन्।
