वीरगञ्ज । सवारी चालकहरूको साचो खोस्ने, जबरजस्ती गाडीबाट निकाल्ने जस्ता क्रियाकलाप गैरकानूनी भएको भन्दै कानूनका विद्यार्थी विवेक चौधरीले नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
रिटमा न्यायाधीश टंक प्रसाद गुरुङको एकल इजलासले सुनुवाइ गरेको छ । चौधरीको तर्फबाट अधिवक्ता रामप्रवेश यादवले बहस गर्दै प्रहरीले सवारी चालकहरूको गाडीको साचो खोस्न पाउने कुनै कानूनी अधिकार नरहेको दाबी गरे ।
यादवले प्रहरीको अधिकार क्षेत्रभन्दा बाहिर गएर गैरकानूनी ढंगले साचो खोस्ने र अन्य मनमानी कार्य गरेको बताएका छन् ।
यस विषयमा इजलासले नेपाल प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग लिखित जवाफ माग गरेको छ । निवेदकले माग गरेको अन्तरिम आदेशको विषयमा भने मंसिर ३ गते छलफल मिति तोकिएको छ ।
