अछाम । अछाम जिल्ला, तुर्माखाद गाउँपालिका- १, रहफस्थित प्रहरी चौकीमा खटिएका प्रहरी सहायक निरीक्षक महेश सिंह धामीलाई स्थानिय जनताले कुटपिट गरेका छन्। घटना गत कात्तिक १४ गते रातिको हो ।
जनताको सेवा र सुरक्षाको लागि खटिएका प्रहरी कर्मचारी ड्युटी समयमा नै आफ्नो कार्यालयबाट कुनै पनि मातहतका कर्मचारीलाई जानकारी नदिई करिब २ किलोमिटर टाढाको गाउँमा पुगेका थिए ।
उनै प्रहरी सहायक निरीक्षक धामीले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै गाली बेइज्जती गरेपछि स्थानिय जनताले उनलाई रंगेहात पक्रेर निर्घात कुटपिट गरेका हुन् । घटनापछि धामी घाइते भएका थिए ।
स्रोतका अनुसार यो घटना बाहिर कतै सार्वजनिक गरिएको थिएन ।
चाडपर्वको अवसरमा जनतालाई शान्ति र सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी कर्मचारीबाट नै शान्ति भंग गर्ने कार्य भएपछि स्थानियले कडा प्रतिक्रिया स्वरूप कुटपिट गरेका हुन् ।
यस घटनाले त्यहाँका प्रहरी कर्मचारीलाई सचेत गराएको जनाइएको छ । यसपछि स्थानीय चौकीका प्रहरीहरू आफ्ना क्रियाकलापमा सतर्क हुने अपेक्षा गरिएको छ ।
