काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नभई सरोकारवाला निकायहरु सबैको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र सफलता प्राप्त हुने बताएका छन् ।
बुधबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी संचालन गरिएको तालिम समापनमा महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् ।
आईजीपी अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताए ।
उनले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले भुकम्प, बाढीपहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौँ नागरिकहरुको जीवन रक्षा गरेको समेत बताए ।
उनले सशस्त्र प्रहरीले देशभरि गरेर पछिल्ला दुई महिनामा हालसम्म ५ सय ८८ जना स्वयंसेवकहरूलाई तालिम दिइसकेको बताए ।
