काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा तल्लीन हुन निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै आईजीपी कुँवरले यस्तो निर्देशन दिएका हुन् ।
आईजीपी कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवं निष्ठावान भई नागरिकको सेवामा तल्लीन हुन सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गरे ।
आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक कुँवरले सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनिकरणमा समेत क्रियाशील हुन निर्देशन दिए ।
व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो कर्तव्यमा आधारित भई उत्कृष्ट रूपमा कार्य गर्नुपर्ने चर्चा गर्दै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
