काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेले आफ्नो दल विभाजन गर्न खोजिएको बताएका छन् ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा शुक्रबार साँझ प्रहरीले पक्राउ गर्नुअघि पार्टी कार्यालय वनस्थलीमा जम्मा भएका कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै लामिछानेले रास्वपा फुटाउने षड्यन्त्र भएको बताएका हुन् ।
त्यसबारे उनले थप बताएनन् । शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजनमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्री केपी ओली राजनीतिक दलहरु फुटाउने षड्यन्त्रमा रहेकाले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
लामिछानेले पार्टी फुटाउने र आफूलाई चुनावमा उम्मेदवार बन्न रोक्ने तयारी भएको बताए । आफूलाई चुनाव नै लड्न नदिने गरी प्रतिशोध साँध्न खोजिएको लामिछानेले खुलाए ।
आफूले कुनै अपराध गरेको नगरेको भन्दै उनले आफूविरुद्ध राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएको बताए । लामिछानेले आफू र आफ्नो दलविरुद्धको षड्यन्त्रलाई नेपाली नागरिकले हेरेको उल्लेख गरे ।
उनले सरकारले आफूविरुद्ध दादागिरी गरेको आरोपसमेत लगाए । सरकारको दादागिरीको सामना गरिने उनको भनाइ थियो ।
उनले राज्यले आफूमाथि गरेको दादागिरीको डटेर सामना गर्न पार्टी पंक्तिलाई अपिल गरे ।
लामिछानेले देशले आफूहरुमाथि आशा र भरोसा गरेकाले त्यसमाथि प्रहार गरिएको टिप्पणी गरे । आफू कुनै पनि न्यायिक जाँच दिन तयार रहेको भन्दै अदालती प्रक्रियालाई सम्मान गर्ने उनले प्रतिबद्धता जनाए ।
