काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम परिस्थितिमा देखाएको समर्पणभाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित भएको बताएका छन् ।
६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरियता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताए ।
महानिरीक्षक कुँवरले सङ्गठित अपराधका रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक अपराधलाई निर्ममताका साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो क्षमतालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई तीव्रता दिएको बताए ।
बदलिँदो सामाजिक परिवेशसँगै सिर्जित नवीनतम् चुनौतीलाई उच्च मनोबलका साथ निस्तेज पारिएको उल्लेख गर्दै उहाँले पछिल्ला एक वर्षमा उल्लेखनीय र अपत्यारिला उपलब्धि हासिल भएका बताए । “बहुचर्चित तथा जघन्य अपराधको सफल अनुसन्धान, विपद्जन्य घटनाको उद्धार, लागुऔषध, आत्महत्या, लैङ्गिक हिंसा र सवारी दुर्घटना न्यूनीकरणलगायत सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गरिएको छ”, प्रहरी महानिरीक्षक कुँवरले भने ।
उनले पछिल्लो एक वर्षको अवधिमा प्रहरी सङ्गठनको आधुनिकीकरण, सुदृढीकरण र संस्थागत विकासका लागि विभिन्न निकायसँग साझेदारी भएको स्पष्ट पारे । महानिरीक्षक कुँवरले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गरी नागरिकको जीउधन र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्दै प्रहरीलाई विश्वसनीय र प्रभावकारी सङ्गठनका रूपमा रूपान्तरणका लागि कटीबद्ध रहन निर्देशन दिए ।
