काठमाडौं । घरमा श्रीमती हुँदाहुँदै मन पराएर ल्याएकी कान्छी श्रीमतीसँग पनि कुरा नमिलेपछि हत्या गरेको आरोपमा रुपन्देहीका एक व्यक्ति पक्राउ परेका छन् ।
देवदह नगरपालिका–९, भलुहीका दशरथ चौधरी (५०) लाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको हो । उनीमाथि कान्छी श्रीमती सुनिता भट्टराई चौधरी (४०) को हत्या गरेको अभियोग छ ।
दशरथले सुनितालाई चक्कु प्रहार गरेको र सोही चोटका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सुनितालाई उपचारका लागि भलुहीस्थित देवदह मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घट्नाको जानकारी पाएपछि इप्रका बुटबल र अस्थायी प्रहरी पोष्ट भलुहीबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
