काठमाडौँ । जग्गा विवादमा आफ्नै भाइलाई छुरा हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका –४, हापुरेका पूर्ण तामाङ (३१) लाई पक्राउ गरेको छ । सहोदर भाइ अनिल (२८) को हत्या आरोपमा पूर्ण पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार मंगलबार विहान जग्गा विवादका पूर्णले भाइको पेटमा छुरा प्रहार गरेका थिए । अचेत अवस्थामा फेला परेका अनिललाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुर्याएको केही समयपछि नै उनको मृत्यु भएको थियो ।
सुरुमा सम्पत्ति माग्दै बिबाद गरेर अनिलले आफैलाई चक्कु प्रहार गरेको चर्चा चलेको थियो। तर, अनुसन्धानका क्रममा दाजुको चक्कु प्रहारबाट अनिलको मृत्यु भएको खुलेको डीएसपी ठकुरीले बताए ।
मृतकका बुबा सोमार र दाजु पूर्णलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पूर्ण आफैले अपराध स्विकार गरेको उनको भनाई छ । बुबामाथि भाइले गरेको दुब्र्यबहार सहन नसकेर उत्तेजनामा आई भाईमाथि चक्कु प्रहार गरेको पूर्णले बयान दिएका छन् ।
डीएसपी ठकुरीका अनुसार बबई गाउँपालिका –४ हापुरे बजारस्थित डोल्मा होटेलभित्र पूर्ण र अनिलको झगडा भएको थियो । डोल्मा होटल पूर्णले नै सञ्चालन गरेका हुन । बुवाआमा र बहिनी उनीसँगै वस्छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका –६, नयाँगाउँमा बस्दै आएका अनिल दसैं मनाउन २३ असोजमा हापुरे पुगेका थिए । मंगलबार घट्ना हुँदा बुबा होटल वाहिरै थिए । दाजुभाईको होहल्ला सुनेर उनी भित्र पस्दा अनिल अचेत अवस्थामा थिए ।
‘अनिलले आफैं पेटमा चक्कु प्रहार गरेको’ भन्दै पूर्णले बुबालाई काल्पनिक घट्ना सुनाए । त्यसपछि अनिललाई अस्पताल लगिएको थियो।
