दाङ । घोराहीमा ५० किलो १५२ ग्राम लागू पदार्थसहित तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ मसिनाबाट मंगलबार दिउँसो ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम जस्तो देखिने लागू पदार्थसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।
पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाउँपालिका–४, रुकुम पूर्वका ३७ वर्षीय सुबिन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र भूमे गाउँपालिका, रुकुम पूर्व घर भई हाल घोराही–१८, मसिना बस्ने ४२ वर्षीया बिनी पुन रहेको उनले जानकारी दिए ।
सुबिन्द्र र चेतन लागूऔषध अफिम बोकी हिँडिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा डीएसपी ईश्वर थापाको नेतृत्वमा खटिएको १० जनाको प्रहरी टोलीले खानतलासी गर्दा दुई पोका लागूऔषध फेला पारेको थियो ।
उनीहरुसँग सोधपुछ गर्दा बिनी पुनबाट किनेको बताएपछि पुनको कोठामा खानतलासी गर्दा बोरा र प्लाष्टिकभित्र लुकाई राखेको अन्य लागूपदार्थ फेला पारेको एसपी तिमिल्सिनाले बताए ।
उनीहरुको साथबाट लागूऔषध तौल गर्ने तराजु, प्याकिङ गर्ने प्लाष्टिक, कैँची, टेपलगायतका सामग्री पनि बरामद भएको उनले जानकारी दिए । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको उनले बताए ।
