काठमाडौं । संवेदनशील जिल्ला कपिलवस्तुको कमान्ड प्रहरी उपरीक्षक (एसपी) निरन्जन दत्त भट्टले सम्हालेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुको कार्यालय प्रमुखको जिम्मेवारी पाएका एसपी भट्टले आइतबार पदभार ग्रहण गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत सोमबारको पत्रादेशले कपिलवस्तु प्रहरी प्रमुखको जिम्मेवारी पाएका भट्टले पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका छन् ।
प्रहरी उपरीक्षक भट्टले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक र पारदर्शी भएर काम गर्न मातहत कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
कपिलवस्तु जिल्ला अति संवेदनशील जिल्ला हो । जहाँ तस्करीदेखि गुण्डागर्दीसम्म हुने गर्छ । एसपी भट्टले अपराध र अपराधी विरूद्ध कठोर भएर उभिने बताए ।
उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी भट्टले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे ।
प्रहरी उपरीक्षक भट्टले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनी संगठनमा हक्की स्वभावका प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
