काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा सुरक्षा निकाय अहोरात्र खटिए । उद्धारमा तीनै तहका सुरक्षा निकाय ३० हजार बढी सक्रिय भएका थिए ।
दिनको भोक र रातको निद्रा नभनी बाढीको उर्लंदो भेलमा ज्यानको बाजी थापेर प्रभावित मानिसको ज्यान बचाउन सुरक्षाकर्मी क्रियाशील भएर लागिपरे । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालीमप्राप्त सुरक्षाकर्मीदेखि विभिन्न गण, गुल्म र कार्यालयका अन्य सुरक्षाकर्मीसमेत उद्धारमा परिचालित भए ।
उनीहरुले बाढीमा बग्दै गरेका मानिसदेखि घरभित्र, सडक, रुख तथा डुबानमा फसेका सर्वसाधारणका उद्धारलाई सुरक्षाकर्मीले तीव्रता दिए । कतिपय अवस्थामा बोकेर, डोरीको सहायतामा त कतिपय अवस्थामा डुङ्गाको सहारामा उद्धार गरिएको थियो ।
नेपाली सेनाले हेलिकप्टरको प्रयोग गरेर पनि उद्धार कार्य जारी राखेको थियो ।
सुरक्षाकर्मीको प्रशंसा
लगातारको भीषण वर्षापछिको बाढीपहिरोका घाइतेको उद्धार तथा राहत वितरण कार्यमा नेपाली सुरक्षाकर्मीले खेलेको भूमिका प्रशंसनीय देखिएको छ । प्रयाप्त साधनस्रोतको अभाव र आपत्कालीन अवस्थामा पनि सुरक्षाकर्मीले खेलेको भूमिकाको सुरक्षाविद्ले प्रशंसा गरेका छन् ।
पूर्वएआईजी रविन्द्र धानुकले सुरक्षाकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको जनाए । ‘अहिले सुरक्षाकर्मीले खेलेको भूमिका तपाईंले पनि देख्नुभयो, साधन–स्रोतले भ्याएसम्म प्रशंसायोग्य छ,’ उनले भने, ‘जनशक्ति कम छैन तर अझै क्षमता अभिवृद्धि र साधन–स्रोत अपुग छ ।’
पूर्वएआईजी धानुकले विपत् आयो, सक्कियो भनेर बस्न नहुने भन्दै जहिल्यै तयारी अवस्थामा राख्न सरकारले पनि आवश्यक सामग्रीका लागि पुँजीगत खर्चमा वृद्धि गर्नुपर्ने देखिएको जनाए ।
नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढीपहिरोको विपतको बेला आफ्ना दुःख भुल्दै ज्यान नै खतरामा राखी निरन्तर सर्वसाधरणको जीउज्यान जोगाउन, घाइतेको उद्धार तथा राहत वितरणमा कर्तव्यनिष्ठ भएर लागिपरेका थिए ।
गत १० असोजदेखि गएको बाढीपहिरोपछि कुनै पनि सुरक्षा निकायले बिदा पाएका छैनन् । सुरक्षाकर्मी स्वयं घाइते हुँदासमेत उनीहरू उद्धारमा नै खटिइरहेका छन् । तीनवटै सुरक्षा निकायहरुले उद्धारको क्षेत्रमा राम्रो काम गरेको पाइएको छ ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबल समन्वयात्मक ढङ्गबाट उद्धार कार्यमा लागेको गृह मन्त्रालयले जनाएको छ । प्रहरी कार्यालयमा आएको फोनका आधारमा समेत सुरक्षाकर्मी सम्बन्धित क्षेत्रमा खटिएका थिए ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शत्रुधन महतोले दोलखामा पहिरोले च्यापिएर मृत्यु भएका आमाबुबाको काखबाट २ वर्षे बालकको उद्दार गरेपछि उद्धारमा खटिएका सुरक्षाकर्मीले स्याबासी मात्रै पाएनन्, सामाजिक सञ्जालभरी उनको चर्चा भएको छ ।
त्यतिमात्र नभएर राजधानी काठमाडौंमै एक नाबालकलाई ढुंगामा राखेर सुरक्षाकर्मीले उद्दार गरेको फोटो समेत भाइरल भयो । जसले गर्दा सुरक्षाकर्मीको यतिबेला चौतर्फी प्रशंसा भएको छ ।
०००
सुरक्षाकर्मीहरु उद्दारमा मात्र नभएर अवरुद्ध भएका राजमार्ग खुलाउनेदेखि जनजीवन सामान्य बनाउन उद्धारसामग्रीसहित तल्लीन छन् । उनीहरुलाई स्थानीय समुदाय तथा सरकारी एवं गैरसरकारी सङ्घसंस्थालेसमेत सहयोग पु¥याइरहेका छन् ।
पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग, बिपी राजमार्ग, काठमाडौं–हेटौंडा र खरनी राजमार्गलगायत अवरुद्ध सडकमा यातायात आवगमनलाई सहज बनाउने कार्यमा तीनवटै सुरक्षा निकायको सक्रियता छ ।
यस्तै गृह मन्त्रालयबाट प्रभावित इलाकामा पठाउन तयार गरिएका राहत सामग्री नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएको समेत नेपाली सेनाले जनाएको छ ।
