काठमाडौं । नेपाल सरकारका मुख्य सचिवमा नियुक्त भएका एकनारायण अर्याललाई गृहजिल्ला स्याङ्जामा भब्य स्वागत गरिएको छ । उनी मुख्य सचिवमा नियुक्त भएपछि पहिलोपटक अर्याल गृहजिल्ला स्याङ्जा पुगेका हुन् ।
अर्याल असोज १२ गते शनिवार र १३ गते आइतवार गृहजिल्लाका बिभिन्न सम्मान लगायतका कार्यक्रममा सहभागी भएका थिए । अर्याललाई आँधीखोला गाउँपालिकामा अभिनन्दन र आफुले पढेको दुई विद्यालयले समेत सम्मान गरेको थियो ।
आँधीखोला गाउँपालिका ३ बिचारीचौतार स्थित राष्ट्रिय मावि र चिलाउनेवास स्थित जनप्रदिप माविमा उनले अध्ययन गरेका थिए ।
आफु पढेको विद्यालय र गाउँपालिकाले अर्याल निजामती कर्मचारीहरुको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त भएको अवसरमा अभिनन्दन गरेको हो ।
त्यसैगरी वालिङमा अर्याललाई स्वागतसहित सम्मान कार्यक्रम राखिएको थियो । वालिङमा भएको कार्यक्रम जिल्ला समन्वय समितिले आयोजना गरेको हो ।
संघिय सांसद, प्रदेशका सांसदहरु, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, राजनीतिकदल, नागरिक समाज, पत्रकार, आमा समुह, विभिन्न संघसंस्थालगायतको सहभागितामा स्वागत सहित सम्मान गरिएको हो ।
पुतलीबजार ११ सुम्रेखोलामा जन्मिएर निजामती कर्मचारीहरुको सर्वोच्च पद मुख्य सचिवमा नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला पुगेका अर्याललाई स्याङ्जाका बिभिन्न स्थानमा स्वागत तथा सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा अर्यालको स्वागत तथा सम्मान कार्यक्रम गरेको थियो ।
यसैबीच वालिङ उद्योग वाणिज्य संघको सामुदायीकहलमा आयोजना गरिएको कार्यक्रममा ईलाका प्रशासन कार्यालय भवनका लागि जग्गा प्रदान गर्ने जग्गादाताको सम्मान समेत गरिएको थियो ।
