एजेन्सी । बोर्ड फर कन्ट्रोल क्रिकेट इन इण्डिया (बीसीसीआई)का सचिव जय साहले इण्डियन प्रिमियर लिग आईपीएलको म्याचफीबारे ठूलो घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत साहले आईपीएल खेल्ने खेलाडीले प्रतिम्याच ७.५ लाख भारतीय रुपैयाँ (१२ लाख नेपाली रुपैयाँ) प्राप्त गर्ने घोषणा गरेका हुन् ।
यो हिसाबले एकजना खेलाडीले आईपीएलको सबैम्याच खेलेको खण्डमा १.०५ करोड भारतीय रुपैयाँ (१ करोड ६८ लाख) हात पार्नेछ ।
शाहका अनुसार फ्रेन्चाइजीहरुले यसका लागि १२.६० करोड भारतीय रुपैयाँ (२० करोड १६ लाख नेपाली रुपैयाँ) छुट्याउने छन् ।
‘आईपीएल र खेलाडीका लागि नयाँ युगको सुरुवात भएको छ,’ साहले भनेका छन् । यसबाहेक खेलाडीले अक्सनमा बिडिङ हुँदाको रकम प्राप्त गर्दै आएका छन् । यसमा म्याचफी ह्वात्तै बढ्दा खेलाडीले पाउने रकममा पनि उच्च बढोत्तरी भएको छ ।
यसबाट २० लाख भारतीय रुपैयाँमा आईपीएलमा अक्सन भएको खेलाडीले २ करोड नेपाली रुपैयाँ हाराहारीसम्म कमाउने सम्भावना खुला रहन्छ । यसमा म्यानअफदी म्याच लगायतले अर्को ठूलो भूमिका खेल्छ ।
आईपीएलले २०२५ को मेघ अक्सन अघि १० वटै फ्रेन्चाइजीलाई ५ खेलाडी रिटेन नियमहरु ल्याउन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
