रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको टोली र एक गैरसरकारी संस्थाले एकजना भारतीय किशोरीलाई सदरमुकाम गौरबाट उद्वार गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म भन्सार छेउ गौरबाट असई फडिन्द्र बहादुर कार्कीको कमाण्डमा गएको टोली र आशिष सामाजिक सेवा नेपालकी सुनिता चौधरीको नेतृत्वमा गएको समूहले
उक्त भारतीय किशोरीलाई शुक्रवार एक्लै हिडिरहेको हेरेर शंका लागेर सोधबुझ गरेको थियो ।
सोधपुझको क्रममा भारत बिहार सीतामढी जिल्ला डुमरा-६ विशुनपुरका लक्षमण राय यादवको छोरी १५ बर्षिया गुडिया कुमारी रहेको र घरमा कसैलाई पनि खबर नगरी आएको बताएकी थिइन् ।
एक्लै हिँडेको भारतीय किशोरी मानव बेचबिखनमा पर्नसक्ने हेरेर सशस्त्र प्रहरी गुल्ममा राखेर सीमावर्ती भारत बैरगनिया थानाकी सई मनिता कुमारीलाई बोलाई सबैको रोहवरमा कागज गराई जिम्मामा पठाईएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताए ।
पछिल्लो समय रौतहटस्थित सशस्त्र प्रहरी सामाजिक कार्यमा निकै सक्रियता देखाएको छ।
